यूएईमा कोभिड पहिचान गर्न ‘स्कायनर’

यूएईमा कोभिड पहिचान गर्न ‘स्कायनर’

आबुधाबी ।आबुधाबीमा कोभिड–१९ पहिचान गर्ने नयाँ परिस्कृत ‘स्क्यानर’ प्रयोगमा ल्याइने भएको छ।

यूएईको राजधानी आबुधाबीमा कोभिड सुरक्षा प्रोटोकल अन्तर्गत ‘ग्रीन पास’ लागू भएपछि लगत्तै यो प्रविधि भित्रिएको हो।

आबुधाबीको आपतकालीन,संकट तथा विपत् समितिले कोभिड सुरक्षासम्बन्धी बिध्यमान प्रोटोकलमा परिवर्तन नगरीकनै नयाँ अत्याधुनिक स्क्यानर प्रयोगमा ल्याउने भएको हो ।जसले कोभिडबाट सुरक्षा तथा सावधानी अपनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ।

यस प्रविधिले सम्भावित कोभिड संक्रमित व्यक्तिलाई ‘स्क्रिन’ गर्ने र तत्काल परिणाम दिन्छ। त्यस्तै यो प्रविधि केही टाढा दुरीबाट प्रयोग गर्न सकिनुका साथै सार्वजनिक स्थलमा प्रवेश गर्नेहरुलाई ‘मास स्क्रिनिङ’ गर्न प्रभावकारी हुन्छ।

त्यहाँ प्रवेश गर्ने व्यक्ति ‘स्क्यानर’ले सङ्क्रमित नभएको देखाएमा मात्र प्रवेश गर्न पाउनेछन् भने ‘स्क्यानर’ रातोमा परिवर्तन भएमा त्यस्ता व्यक्तिलाई सम्भावित संक्रमितको रुपमा लिँदै २४ घण्टा भित्र अनिवार्य पीसीआर परिक्षण गर्नु पर्नेछ। यसरी गरिने पिसीआर परीक्षण निःशुल्क हुनेछ।

सुरुवाती चरणमा यस प्रविधिको प्रयोग यास टापुको सार्वजनिक स्थानको प्रवेशद्वार, मुसाफ्फा क्षेत्रको प्रवेश तथा अन्तिम बिन्दुका साथै इमिरेट्सका प्रवेश नाकाहरुमा गरिने बताइएको छ।

यो नयाँ प्रविधि भित्राए पनि विद्यमान स्वास्थ्य मापदण्डका अन्य उपायहरु पनि लागू हुनेछन्। कोभिड महामारीलाई नियन्त्रण गर्ने (चार खम्बे रणनीति ( खोप, कन्ट्याक्ट ट्रेसिङ, सुरक्षित प्रवेश र सावधानीका उपाय ) अनुरुप यो पहल लक्षित रहेको बताइएको छ। ‘यस किसिमको अत्याधुनिक प्रविधिको प्रयोग सार्वजनिक स्वास्थ्य र सुरक्षाको अभिवृद्धि गर्ने प्रयासको एक हिस्सा हो’ समितिले अगाडी भनेको छ।