जापानका लागि उडान खुल्यो, नेपालीलाई ‘हर्स न बिस्मात’

जापानका लागि उडान खुल्यो, नेपालीलाई ‘हर्स न बिस्मात’

काठमाडौं।नेपाल सरकारले जापान उडानको लागि नेपाल बायुसेवा निगमलाई हालै अनुमति दिएको छ। तर, यो अनुमति नेपालको चर्चित उखान ‘कागलाई बेल पाक्यो, हर्स न बिस्मात’ जस्तै भएको छ।

सरकारले जापान उडानका लागि अनुमति दिएपनि जापान सरकारले भने नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ। जसका कारण नेपालीहरू तत्काल जापान प्रवेश गर्न पाउँदैनन्।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा भारतीय भेरियन्टको कोरोना भाइरस देखिएपछि जापानले भारतसहित नेपाललाई ‘रेड जोन’ मा राखेको थियो। जुन अहिले पनि यथावत छ।

नेपाल सरकारको हालैको निर्णयअनुसार २४ जुन शुक्रबार नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलसम्मका लागि उडान अनुमति पाएको छ। जसअनुसार राती ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नारिताका लागि जहाज उड्ने छ। सोही जहाज नारिता बिमानस्थलबाट २५ जुनमा नेपाल फर्किने छ।

काठमाडौं र नारिताको लागि नेपाली बिमान २ महिनापछि खुल्न लागेको हो। जापान सरकारको प्रतिबन्धका कारण जहाज उडेपनि नेपाली भने काठमाडौंबाट उड्न पाउने छैनन्। जहाजले जापानबाट मात्र यात्रु बोक्न पाउने छ।

हाल नेपालमा सयौंको संख्यामा नेपालीहरू जापान उडानको प्रतिक्षामा छन्। विदामा आएका नेपाली, आफन्त भेट्न आएका गैरआवासीय नेपालीलगायत पढ्न जान सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका विद्यार्थी जापान जाने पर्खाइमा छन्। तर, जापान सरकारको नियमका कारण उनीहरू निराश बनेका छन्।

हालको अवस्थामा केवल ४ वटा क्याटोगरीका भिसा बाहकले मात्र जापान प्रवेश पाउने छन्। यसमा ‘एईजु’ बाहक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष, तिनका सन्तान र जापानी नागरिक मात्र जापान जान सक्छन्।

यस बाहेक विशेष अवस्थामा (जापानमा नै उपचार गर्दै आएका, मृत्युका कारण अन्तिम क्रियाकर्ममा जानै पर्ने) व्यक्तिहरू जापान प्रवेश गर्न सक्ने छन्। तर, विशेष अवस्थाको घटनामा जापान सरकारले चाहेमा मात्र वा दिनैपर्ने अवस्था देखेमा मात्र सम्भव छ।

दुई महिनापछि नेपाल एयरलाइन्सले जापानको लागि उडान भर्दै



No ads found for this position