निगमको दुबई–काठमाडौं उडान सूचारु हुँदै, एकतर्फी भाडा मात्र झण्डै ५० हजार

निगमको दुबई–काठमाडौं उडान सूचारु हुँदै, एकतर्फी भाडा मात्र झण्डै ५० हजार FILE PHOTO

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको दुबई–काठमाडौं उडान झण्डै दुई महिनापछि सूचारु हुने भएको छ।

यूएईमा अलपत्र परेका नेपालीको समस्या बढ्दै गएपछि सरकारले नेपाल एयरलाइन्सको जहाजलाई नियमति उडानको लागि अनुमति दिएको हो।

नेपाल एयरलाइन्सका काठमाडौंस्थित एक अधिकारीका अनुसार नेपाल उड्डयन प्राधिकरणले २ उडानकोे लागि स्वीकृति दिइसकेको छ। जसअनुसार आरएको जहाजले आउँदो २३ र ३० तारिख दुबई–काठमाडौं उडान भर्नेछ।

ती अधिकारीका अनुसार काठमाडौंबाट यूएईमा रहेका नेपाली ल्याउन एयरलाइन्सको ‘वाइडबडी’ दुबई जानेछ। जसको सिट क्षमता २ सय ७४ रहेको छ।

यूएईले नेपाललाई कोरोना संक्रमणको ‘उच्च जोखिम’ भएको देशको सूचीमा राखेको छ। उसले ७ जुलाईसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। जसका कारण तत्काल नेपालबाट कुनै पनि नेपाली श्रमिक यूएई जान सम्भव छैन। यसैले काठमाडौंबाट दुबई निगमका जहाज रित्तै उड्दै छन् भने दुबईबाट नेपालीहरू देश फर्किन सक्नेछन्।

नियमित उडान भनिए पनि भाडादर सामान्य अवस्थाभन्दा दोब्बर कायम गरिएको छ। दुबईबाट काठमाडौंको लागि एकतर्फी भाडा मात्र ४९ हजार १ सय ५१ नेपाली रुपैयाँ तोकिएको छ। यो रेटमा पनि फेरबदल हुनसक्ने ती अधिकारीले बताए।

‘यताबाट रित्तै जानु पर्ने भएकोले भाडा महँगो भएको हो,’ती अधिकारीले प्रवास खबरसँग भने।

अहिले यूएईमा हजारौँ नेपाली देश फर्किन उडानको प्रतिक्षामा छन्। करार अवधि सकिएका र नियमित घर विदामा फर्किने उडान बन्दको चपेटामा छन्। कतिपयको त भिसा सकिएर ‘ओभरस्टे फाइन’ समेत लाग्ने अवस्था छ।

उडान बन्द हुँदा केही नेपाली श्रमिक देशमा आफ्न्त गुमाउँदा पनि फर्किन सकेका छैनन्।

कोरोना महामारीले उडान रोकिन पुग्दा अहिले हजारौँको संख्यामा नेपालीहरू यूएईमा अलपत्र परेका हुन्। सीमित संख्यामा उडाउन लागिएका जहाजले यात्रुको चाप थेग्न नसक्ने धेरैको गुनासो छ। जुन महिनामा निगमका दुई उडानबाट ५ सय ७४ नेपाली मात्र स्वदेश फर्किन पाउने छन्।