यूएईमा अनौठो तथ्य फेला, कोरोना भाइरस पत्ता लगाउन पीसीआर परीक्षण भन्दा कुकुर उपयोगी

यूएईमा अनौठो तथ्य फेला, कोरोना भाइरस पत्ता लगाउन पीसीआर परीक्षण भन्दा कुकुर उपयोगी

आबुधाबी । सुन्दा अच्चम लाग्न सक्छ, तर यूएईको आबुधाबीमा एक अनौठो तथ्य फेला परेको छ।

आबुधाबीमा गरिएको एक नयाँ अध्ययनले स्निफर कुकुरले कोभिड–१९ संक्रमित पहिचान गर्नसक्ने पुष्टि भएको छ ‌। अझ अचम्म लाग्दो त यो छ कि त्यसरी ती कुकुरहरूको माध्यमबाट गरिएको पहिचान आरटी पीसीआर स्वाब परीक्षणभन्दा पनि बढी प्रभावकारी र भरपर्दो पाइएको छ।

फेडरल कस्टुम्स अथोरिटीका प्राध्यापकहरु र विज्ञहरुले गरेको अध्ययनबाट यो कुरा पत्ता लागेको हो। सो अध्ययन गतहप्ता एक विज्ञान जर्नल ‘नेचर’ मा प्रकाशन गरिएको थियो। अथोरिटीका के–९ युनिटका निर्देशक अब्दुल सलाम अल–साम्सी र हाइअर कलेज अफ् टेक्नोलोजीका विज्ञ समूहका प्राध्यापक मोहम्मद हाग् अलीले नेतृत्व गरेको समूहद्वारा सो अध्ययन गरिएको थियो। सो समूहमा अब्दुल्लाह तिफ अल–साम्सि, यासिर मोहम्मद, रासिद मन्जुर र मोहम्मद एल-थोलोथ पनि सहभागी थिए।

विस्फोटक पदार्थ पत्ता लगाउनको लागि प्रयोग हुने फेडरल कस्टुम्स अथोरिटीका कुकुरहरुलाई कोभिड–१९ को गन्ध सुँघ्ने तालिम दिइएको थियो। मानिसको पसिनाको गन्ध सुँघेर कुकुरको माध्यमबाट गरिने उक्त परिक्षणको संवेदनशिलता आरटि पीसीआर परीक्षण भन्दा उच्च रहेको पाइएको छ, जहाँ ३ हजार १ सय ३४ जनामा परीक्षण गरिएको थियो। के-९ कुकुरहरूद्वारा गरिएको सो पहिचानको विश्वसनीयता ८८ प्रतिशत तथा आरटी पीसीआरको जम्मा ७३ प्रतिशत रहेको पाइयो।

सो अध्ययन अनुसार दुवै किसिमको परीक्षणको उच्च विशिष्टताले वास्तविकरूपमा कोभिड–१९ नेगेटिभ भएका व्यक्तिहरूको पहिचान गर्ने अधिक क्षमता रहने बताइएको छ‌‌।

त्यस्तै, ३ हजार २ सय ९० जनामा गरिएको सार्स्– कोभ् –२ परीक्षणमा ३ हजार २ सय ४९ जनाको ‘नेगेटिभ’ नतिजा आएको थियो।

ु‘यो परिक्षण उच्च संवेदनशिलता, छिटो समयमा नतिजा निस्कने, कम लागत, कम जोखिमपूर्ण र प्रयोग गर्न सजिलो भएकोले लक्षण विहिनताको अवस्थामा सार्स कोभ्–२ को पहिचानको लागि आरटि पीसीआरको उत्तम विकल्पको रुपमा प्रस्तुत भएको’ उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

सो अध्ययनको लागि नमुनाहरु अल माफ्राक् वर्कर्स सिटीको कोभिड–१९ स्क्रिनिङ केन्द्रमा आएका व्यक्तिहरूबाट संकलन गरिएको थियो। १९ देखि ६७ वर्ष सम्मका पुरुषहरुबाट नमूना संकलन गरिएको थियो, जसमा नब्बे प्रतिशतभन्दा बढी एसियाका रहेका थिए। तीमध्ये ३८ प्रतिशत भारत तथा २८ प्रतिशत पाकिस्तानका पुरुष रहेका थिए।

३ हजार २ सय ९० जनाको स्वाव र पसिनाको नमुनाहरु संकलन गरिएको थियो। आरटी पीसीआरको लागि सेवामा एक स्वास्थ्यकर्मीद्वारा गरिएको थियो भने पसिनाको नमुना ती व्यक्तिहरु आफैंले दिएका थिए।

दुबईको आबुधाबी र सारजाह विमानस्थल, सिमानालगायत यहाँका प्रमुख इभेन्टहरुमा कोभिड–१९ का केसहरू पत्ता लगाउन स्निफल कुकुरहरु सफलतापूर्वक खटाउने गरिँदै आएको छ। ती स्निफर कुकुरहरु हत्याका दोषीहरु पत्ता लगाउनस बन्दरगाहमा आइपुग्ने मालसामान, विस्फोटक पदार्थ तथा लागूऔसध सुँघ्न पनि प्रयोग गरिंदै आएको छ।

एजेन्सीकाे सहयाेगमा