हज यात्रा : ६० हजार भक्तजनलाई मात्र सहभागी गराइने, साउदी निर्णयमा मुस्लिम देश सहमत

हज यात्रा : ६० हजार भक्तजनलाई मात्र सहभागी गराइने, साउदी निर्णयमा मुस्लिम देश सहमत

रियाद । साउदी अरबले यस वर्षको हज यात्राको लागि दर्ता सीमित गर्ने भएको छ। कोभिड महामारीको कारण साउदीले हज यात्रामा आफ्ना नागरिक र यहाँ रहेका सीमित बासिन्दालाई मात्र सहभागी गराउन लागेको हो।

स्वास्थ्य र हज मन्त्रालयले १२ जुन, शनिबार गरेको घोषणाअनुसार जुलाइको मध्यबाट सुरु हुने यस वर्षको हज यात्रामा कुल ६० हजार भक्तजनले मात्र सहभागी हुन पाउनेछन्। यद्यपि, त्यसरी हज गर्न जाने व्यक्ति कुनै किसिमको दीर्घरोग नलागेको तथा १८ देखि ६५ वर्ष उमेर समुह भित्रको हुनुपर्नेछ।

त्यस्तै, हज गर्न जाने तीर्थयात्री पूर्णरुपमा खोप लगाएको हुनुपर्ने, खोपको एउटा मात्रा मात्र लगाएको भएमा कम्तीमा १४ दिन पहिले लगाएको हुनुपर्ने, कोरोना भाइरस संक्रमित भइ निको भएको खण्डमा खोप प्राप्त व्यक्ति हुनुपर्ने लगायतका स्वास्थ्य मापदण्ड पनि तोकिएको छ।

मानव स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिइने बताउँदै मन्त्रालयले ग्राण्ड मस्जिद र पैगम्बरको मस्जिदमा पाहुना तथा आगन्तुकहरुलाई ‘हज’ र ‘उम्राह’ को दर्शन र अनुष्ठान गर्न सहज बनाउने राज्यको उत्सुकतामा आधारित भएर यो निर्णय गरिएको जनाएको छ।

यसैसन्दर्भमा साउदी अरबले हजमा आउने तिर्थयात्रिलाई सीमित गर्ने निर्णयमा समस्त मुस्लिम देशहरूको समझदारी रहेको बुझिएको छ ‌।

गल्फ अपरेशन काउन्सिलका महासचिव नायेफ अल हज्रफले यस वर्षको हज यात्रा सिमित गर्ने निर्णयले राज्यले तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई पूर्णतः ध्यान दिन्छ भन्ने कुराको पुष्टी भएको बताएका छन्।

त्यस्तै, इस्लामिक सहयोग सङ्गठन र मुस्लिम वर्ल्ड लीग (एम्डब्लुएल) ले पनि साउदी अरबको सो निर्णयलाई स्वागत गरेका छन्।

दुबईले पनि उक्त निर्णयलाई सकारात्मक रुपमा लिँदै आवश्यक परेमा महामारी नियन्त्रणमा साथ दिने बताउँदै उक्त निर्णयको स्वागत गरेको छ। त्यस्तै, कुबेत र बहराईनले पनि यस निर्णयलाई स्वागत गर्दै विज्ञप्ति निकालेका छन्।