मलेसिया : मैले कम्पनीबाट ‘चेकआउट’ गरेँ, नेपाल फर्किन फ्लाइट बन्द छ, अब के हुन्छ ?

मलेसिया : मैले कम्पनीबाट ‘चेकआउट’ गरेँ, नेपाल फर्किन फ्लाइट बन्द छ, अब के हुन्छ ? क्वलालम्पुर

क्वालालम्पुर । ‘मैले कम्पनीबाट ‘चेकआउट’ गरेँ, नेपाल फर्किन फ्लाइट बन्द छ, अब के हुन्छ ?’ हाल मलेसियामा रहेका धेरै नेपालीले राख्ने जिज्ञाशा हो यो।

अहिले मलेसिया र नेपालबीच सिधा उडान छैन । भिसा अवधि पूरा गरेर स्वदेश फर्किन तयार रहेका हजारौँ नेपाली उडान नहुँदा अलपत्र परेका छन् । उडान सूचारु कहिले हुन्छ त्यसको टुंगो पनि छैन, यसकारण उनीहरु अलमलमा छन्।

भिसा सकिएको अवस्थामा यसरी मलेसियामा रहँदा के हुन्छ त ? उडान सूचारु भएपछि जान पाइन्छ कि नाइ त ? यहाँ हामीले क्वालालम्पुरस्थित नेपाली दूतावाससँगको समन्वयमा यस प्रश्नको जवाफ दिनेछौँ ।

दूतावासकी तृतीय सचिव यशु बस्नेतका अनुसार ‘चेकआउट’ गरेर बसेका नेपाली उडान सूचारु भएपछि त्यही कागजातको आधारमा सहजै स्वदेश फिर्न पाउँछन्।

‘चेकआउट’ लिएर बसेका नेपालीलाई सम्बोधन गर्दै बस्नेत भन्छिन्, ‘तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ ठाउँमा नै सुरक्षितसाथ बस्नुहोला । उडान खुल्ने वित्तिकै त्यही ‘चेकआउट मेमो’ का आधारमा तपाईँ नेपाल जान सक्नुहुनेछ ।’ उनले यसरी ‘चेकआउट मेमो’ लिएकालाई धैर्य गरेर बस्न समेत आग्रह गरिन्। यसमा कुनै जरिवाना समेत नलाग्ने तृतीय सचिव बस्नेतको भनाइ छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार यहाँ हरेक साता करिब ५ सय नेपालीको करार सम्झौता पूरा हुन्छ। करार सकिएपछि सबै स्वदेश फर्किन चाहन्छन्। तर, उडान नहुँदा ठूलो समस्या परेको छ। त्यस्तै जेलमा कैद अवधि भुक्तान गरिसकेका नेपाली पनि उडान नहुँदा यतै अड्किएका छन्।

यो पनि पढ्नुहोस्

ठूलो मार उडान बन्द गर्दा भयो, २६ शव अड्किए : राजदूत पाण्डे मलेसिया