साउदी अरबको लागि १४ जुनमा नेपाल एयरलाइन्स र हिमालयनले उडान भर्दै

साउदी अरबको लागि १४ जुनमा नेपाल एयरलाइन्स र हिमालयनले उडान भर्दै

काठमाडौं। नेपाल र साउदी अरबबीच रोकिएको उडान जुन १४ देखि सुचारु हुने भएको छ। सरकारले कोरोना महामारीका कारण बैशाख २० देखि साउदीलगायत अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो। सरकारको यो निर्णयबाट साउदीमा रहेका नेपालीहरु पीडित बनेका थिए।

यस विषयमा प्रवास खबरले सुरुदेखि नै समाचार लेख्दै आएको छ। साउदीका लागि निवर्तमान नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले १४ जुनमा दुई वटा बिमान उड्ने जानकारी दिए। उनका अनुसार हिमालयन एयरलाइन्सले दम्माम र नेपाल एयरलाइन्सको विमानले रियादमा सेवा दिने भएका छन्।

अहिले साउदीमा रहेका एयरलाइन्सका प्रतिनिधिले यात्रीलाई टिकट बुक गर्न अनुरोध गरिरहेका छन् । ‘मलाई आज यहाँ रहेका दुबै एयरलाइन्सका कन्ट्री डाइरेक्टरले १४ जुनमा उडान तय भएको जानकारी गराउनु भएको थियो । सोही उडानमा मलाई पनि फर्किन उहाँहरुले प्रस्ताव गर्नुभएको थियो। तर, म आजै राती दोहा हुँदै काठमाडौँ आउन लागेको छु भनेर जानकारी दिए।’

राजपुत आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर आज नेपाल फर्किदै छन्। कोरोना महामारीका कारण केही दिनअघि उनको कार्यकाल पूरा भएपनि उतै अड्किएका थिए । उनी कतारको दोहा हुँदै नेपाल फर्किन लागेका हुन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले भने साउदीको उडान सूचारुबारे आफूलाई जानकारी प्राप्त नभएको बताउँछन्। ‘उहाँहरु (एयरलाइन्सका साउदी प्रतिनिधि) तयारी गर्दै हुनुहुन्छ होला, यसबारेमा हामीलाई अहिलेसम्म जानकारी छैन्,’ उनले प्रवास खबरलाई बताए।