दक्षिण अफ्रिकी एक महिलाले एकै पटकमा १० सन्तान जन्माएर राखिन् विश्व रेकर्ड

दक्षिण अफ्रिकी एक महिलाले एकै पटकमा १० सन्तान जन्माएर राखिन् विश्व रेकर्ड

काठमाडौं । दक्षिण अफ्रिकी एक महिलाले एकै पटकमा १० सन्तानलाई जन्म दिएकी छन्। ३७ वर्षीया गोसियामे थमारा सिथोले आफ्नो कोखबाट १० बच्चालाई जन्माएकी हुन्। उनले ७ छोरा र ३ छोरी जन्माएको प्रिटोरिया न्यूजले जनाएको छ।

उनका श्रीमान टेबेगो तसोतेत्सीले गत जून–७ मा प्रिटोरियाको एक अस्पतालमा सिजेरियन सर्जरीमार्फत् बच्चाहरूको जन्म दिएको बताएका छन्।

उनी गर्भवती भएको बेला चिकित्सकहरूले उनको पेटमा ६ बच्चा खेलिरहेको बताएका थिए। सिथेको कोखमा ८ वटा बच्चा हुनसक्ने अनुमान गरिएको थियो। तर, सुत्केरी भएपछि उनले १० बच्चालाई जन्म दिइन्।

अस्पतालले सबै बच्चा सुरक्षित र स्वस्थ रहेको जनाएको सिथेका श्रीमान तसोतेत्सीले बताएका छन्। उनले भने, ‘सात छोरा र तीन छोरी जन्मेका छन्। उनी सात महिना तीन दिनकी गर्भवती थिइन्। म खुसी छु। म भावुक छु।’

यसअघि मालीकी मालियन हलीमा सिसेले ९ सन्तानलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी थिइन्। एक महिना नपुग्दै दक्षिण अफ्रिकी नागरिक सिथोले मालीकी ९ बच्चा पाउने सिसेको रेकर्ड तोडेकी छन्।