विदेशमा अलपत्र नेपाली श्रमिकप्रति सरकार उदासिनः एनआरएनए अध्यक्ष कुमार पन्त

विदेशमा अलपत्र नेपाली श्रमिकप्रति सरकार उदासिनः एनआरएनए अध्यक्ष कुमार पन्त

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीप्रति सरकार उदासिन भएको भन्दै असन्तुष्टी जाहेर गरेका छन्।

स्वास्थ्य मन्त्रालयलाई सोमबार अनलाइनमार्फत स्वास्थ्य सामाग्री बुझाउन आयोजित भर्चुअल कार्यक्रममा अध्यक्ष पन्तले एक चौथाई नेपाली विदेशमा रहेको स्मरण गराउँदै उनीहरूको समस्याप्रति राज्य उदासिन भएको बताए।

‘राज्य सधै देशभित्रका नेपालीहरूको समस्या मात्र देख्छ। तर, विदेशमा हामी एक चौथाई नेपाली पनि बसेका छौं। हामीहरूको पनि धेरै समस्या छन्। अहिले फेरि विदेशमा रहेका गैरआवासीय श्रमिक जटिल अवस्थाबाट गुज्रिरहेका छन्। उडान बन्द हुँदा बिचल्लीमा छन्। थुनिएर बस्नु परेको छ,’ अध्यक्ष पन्तले भने।

उनले विदेशमा विपतमा परेका नेपालीलाई देशमा ल्याउन सरकारले पहल गर्नुपर्ने स्पष्ट पारे। उनले अन्य देशको उदाहरण दिँदै भने, ‘अन्य देशको उदाहरण छ। यहाँ होटललाई क्वारेन्टाइन बनाउन सकिन्छ।’

मुलुक अफ्ठेरोमा परेको बेला गैरआवासीय नेपालीले देशलाई सघाउने संस्कार बसिसकेको उनले औल्याए। उनले विश्व श्रम बजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्नेतर्फ नेपाल सरकारलाई सतर्क हुन जोड दिए। ‘विदेशमा रहेका नेपालीको उद्धारका लागि सरकारले नयाँ नीति नै बनाउनु पर्छ,’ उनले भने। उनले खोप खरिदका लागि एनआरएनए तयार रहेको पनि जानकारी दिए। ‘हामी सरकारसँग सहकार्य गरेर खोप नेपाल पठाउन तयार छौं। सरकारले कानुनी प्रक्रिया पुरा गरिदिनु पर्यो। पैसा हामी जुटाउँछौं,’ उनले भने।

एनआरएनका विश्वभरि रहेको शाखाबाट उठेको पैसाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेको थियो।