यूएई नेपाली दूतावासमा यौन दूव्यवहार प्रकरणः आरोपी कर्मचारी भन्छन्–मेरो चरित्र हत्या गर्न खोजियो

यूएई नेपाली दूतावासमा यौन दूव्यवहार प्रकरणः आरोपी कर्मचारी भन्छन्–मेरो चरित्र हत्या गर्न खोजियो

दुबई। यूनाइटेड अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली दूतावासमा कार्यरत तृतीय सचिव रामविनय रेले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्।

रेमाथि दूतावासमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार गर्नुका साथै सेवा प्रवाहमा लापरबाही गरेको आरोप लागेको थियो। आरोप लागेपछि उनलाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ। उनले १ असोज २०७६ देखि दूतावासमा कार्यभार सम्हालेका थिए।

तर, रेले आफू यूएई आएदेखि आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न अभियान चलाइएको दावी गरेका छन्। प्रवास खबरको जिज्ञासामा रेले भने, ‘केही मिडियामा महिलाको नाम जोडेर मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ। यो समाचार प्रकासित भएपछि मैले भिसाको रेकर्डमा यस्तो नाम छ कि छैन भनेर तीन–चार पल्ट चेक गरे। तर, समाचारमा आएको नाम कतै छैन।’

रेमाथि म्यान्मारकी मयात डिअना र फिलिपिनो एक युवतीले यौन दुव्यवहार गरेको आरोप लगाएको भन्दै उजुरी परेको थियो। तर, रे यो उजुरीमा कुनै सत्यता नभएको बताउँछन्। उनी आफूविरूद्ध काल्पनीक नामबाट उजुरी हालेको दावी गर्छन। ‘मलाई यसअघि पनि पैसा खान्छ भनेर आरोप लगाइएको थियो। कसैले प्रमाणित गर्न सकेनन्। अहिले पनि काल्पनीक नाममा उजुरी हालिएको छ। मैले दुव्र्यवहार गरेको भनिएको दुई महिलाले भिसाको लागि आवेदन दिएको यहाँ देखिदैन। यसरी मनगढ्न्त कुरा कसरी समाचारको विषय बन्यो मलाई आश्चर्य लागेको छ।’

उनी दूतावासभित्र बाट वा बाहिर, कताबाट आफूविरूद्ध सड्यन्त्र भइरहेको त्यो बुझ्न नसकेको बताउँछन्। ‘म पैसामा बिक्ने मान्छे होइन। कसैको स्वार्थपूर्ति नभएर मेरोविरूद्ध लागेको हुनुपर्छ।’

उनले मन्त्रालयलाई आफ्नो स्पष्टीकरण पठाएको पनि जानकारी दिए। ‘मन्त्रालयको पत्र प्राप्त भएपछि नबुझ्ने कुरा भएन। तर, हुँदै नभएको कुरा कसरी स्विकार्ने भनेर मन्त्रालयमा कुरा गरिरहेको छु,’ उनले भने।

 



No ads found for this position