निधनको १७ दिनपछि निरप्रसादको शव काठमाडौंमा

निधनको १७ दिनपछि निरप्रसादको शव काठमाडौंमा

दोहा। ४३ वर्षीय निरप्रसाद कामी परिवारको उज्जवल भविस्यका लागि ८ वर्षअघि कतारको राजधानी दोहा आइपुगेका थिए। यसअवधिमा उनले निकै धेरै मिहिनेत गरे। तर, २० मेमा कामबाट फर्किएर ओछ्यानमा पल्टिएका उनी त्यसपछि कहिल्यै उठेनन्।

म्याग्दी जिल्ला मालिका–५ रुन्माका निरप्रसादको शव निधन भएको १७ दिनपछि काठमाडौं पुगेको छ। कोरोना महामारीको दोस्रो लहरका बीच नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेपछि उनको शव नेपाल लैजान अफ्ठेरो परेको थियो।

तर, सरकारले कतारसँगको उडान सिमित भएपनि नियमित गर्ने निर्णय गरेपछि सोमबार कतार एयरवेजको पहिलो जहाजबाट निरप्रसादको शव काठमाडौं पठाइएको थियो।

निरप्रसादको शव पठाउन अन्तर्राष्ट्रिय म्याग्दी समाज (मोना) कतारका अध्यक्ष नरेन्द्र फगामी र कम्पनीका जिम्मेवार अधिकारीले कतारको सरकारी हमाद अस्पताल पुगेर प्रक्रिया पुरा गरेका थिए।

अस्पतालले उनको निधन ह्दयघातका कारण भएको बताएको थियो। मृतक निरप्रसादको नेपालमा दुई छोरा, श्रीमती र आमा छन्।

काठमाडौंमा उनको शव आफन्त दिपकराज बिकले बुझेका थिए। उनले टेलिफोन कुराकानीमा प्रवास खबरसँग भने, ‘शव अन्त्येष्टीका लागि म्याग्दी लैजादै छौं।’ आफन्तले निधन भएको खबर दुई साताअघि पाएपनि शव बुझ्न सकेका थिएनन्। अहिले गाउँमा शोकको स्थिति छ।