जापान प्रवेशमा नेपालीलाई लागेको प्रतिबन्ध लम्बिन सक्ने

जापान प्रवेशमा नेपालीलाई लागेको प्रतिबन्ध लम्बिन सक्ने

टोकियो। जापान सरकारले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्धको समय लम्बिन सक्ने सम्भावना बढेर गएको छ। जापान प्रवेशमा विगत एक महिनादेखि नेपाली नागरिकलाई प्रतिबन्ध लगाइएको छ। भारतमा पुष्टी भएको नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जापानले कडाइ गरेको हो।

पछिल्लो समय नेपालबाट आएका थप व्यक्तिमा संक्रमण भेटिएको थियो। नेपाल र भारतको बाटो हुँदै आएकाहरुमा विमानस्थलको क्वारेन्टाइनमा परीक्षण गर्दो १४ जनामा भारतीय म्युटेन्ट पुष्टी भएको थियो। नेपालबाट २२ मेमा आएका उनीहरुमा संक्रमण पाइएको थियो।

हालको अवस्थामा एइजु, तेईजु, जापानी नागरिकसँग विवाह गरेका नेपाली र उनका सन्तानलाई मात्र आउन दिइएको छ। यतिबेला नेपाल–जापान सिधा हवाइ उडान छैन। तर तेस्रो मुलुक हुँदै केही नेपाली आउने क्रम जारी छ।

जापानी समाचार अनुसार विमानस्थलको क्वारेन्टाइनमा गरिएको परीक्षणमा नेपाली र भारतीय महिला र पुरुष गरेर कूल १४ जनामा संक्रमण पुष्टी भएको छ।

एयरपोर्ट क्वारेन्टाइनमा रहँदा संक्रमण पाइएका १४ मध्ये ९ जनामा कुनै पनि लक्षण देखिएको छैन। तर, ५ जनामा उच्च ज्वरोलगायतका लक्षण देखिएको थियो। जापानको विमानस्थलमा हालसम्म विदेशबाट आएका १ सय ९२ जनामा इन्डियन म्युटेन्ट कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। जापानभित्र हालै मात्र यो भाइरसबाट संक्रमित २४ जना फेला परेको खबर सार्वजनिक भएको थियो।