ओमनमा नेपालीलाई कोरोना खोप लगाउने अभियानमा एनआरएन सोसल क्लब सक्रिय

ओमनमा नेपालीलाई कोरोना खोप लगाउने अभियानमा एनआरएन सोसल क्लब सक्रिय

काठमाडौँ। ओमनस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले यहाँ कार्यरत नेपाली कामदारलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन पहल गरेको छ।

ओमनमा व्यक्तिगत रुपमा सिधै अस्पतालमा खोप लगाउन नपाउने नियम छ। यसले नेपाली कामदार मर्कामा परेका थिए। नेपाली कामदारको यही समस्या बुझेपछि सोसल क्लबले सहजीकरणको भूमिका निर्वाह गरेको हो।

ओमनको विभिन्न कम्पनी र घरमा कार्यरत नेपालीले खोप लगाउन पाएका छैनन्। यस्ता नेपाली कामदारलाई तुरुन्त क्लबकोसम्पर्कमा आउन अनुरोध गरिएको क्लबका अध्यक्ष विकल झाले प्रवास खबरलाई बताए।

‘व्यक्तिगत रुपमा कामदार आफै अस्पताल जाँदा खोप पाउने अवस्था छैन। रोजगारदातामार्फत खोप लगाउनु पर्ने अवस्था छ। जसको रोजगारदाताले खोप लगाउने प्रबन्ध गरेको छैन, उहाँहरू क्लबको सम्पर्कमा आउन अनुरोध गरेका छौं’, झाले भने।

ओमनले कामदारका लागि खोपको निःशुल्क व्यवस्था गरेको छैन। कामदार आफैले खोपको रकम भुक्तानी गर्नु पर्नेछ। जसमा अस्पतालमा भर्नाबापत ३ र खोपबापत २० रियाल गरी २३ रियाल (झन्डै ७ हजार रुपैयाँ) भुक्तानी गर्नु पर्नेछ। ओमनमा करिब १५ हजार नेपाली कामदार कार्यरत छन्।