साउदीबाट नेपाल फर्किन के गर्नुपर्छ ?

साउदीबाट नेपाल फर्किन के गर्नुपर्छ ?

रियाद। ‘साउदीबाट अहिले नेपाल फर्किन मिल्छ? मिल्छ भने के–कसरी सकिन्छ?’ यो जिज्ञासा साउदीमा रहेका अधिकांश नेपालीको हो।

यही जिज्ञासा मेटाउन प्रवास खबरले सम्बन्धित निकायसँग हालै कुराकानी गरेको थियो।

दोस्रो लहरको कोभिड–१९ संक्रमणले महामारीको रुप लिएपछि नेपाल सरकारले २० बैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। जुन अहिले पनि जारी छ।

उडान रोकिदा विदेशमा फसेका नेपालीको समस्या बढ्दै गएपछि सरकारले हालै अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई केही खुकुलो बनाएको छ। अहिले सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।

मन्त्री परिषद्को सिफारिसमा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडानको स्वीकृति दिएको हो। नयाँ निणर्यअनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज तथा भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडानको अनुमति दिइएको छ।

यस्तै साउदीको हकमा तपाईहरूलाई जानकारी भएकै विषय हो, यहाँबाट काठमाडौंका लागि अहिले सिधा उडान छैन। तर, यसबीच नेपाल नगइ नहुनेको हकमा भने केही विकल्प छ। तर, यो निकै झन्झटिलो र खर्चिलो छ। यसमा समय पनि लामो हुने र उडानको लागि सिट पाइने सम्भावना पनि न्युन रहन्छ।

यति हुँदाहुँदै पनि कोही नेपाल फर्किन चाहन्छ भने पहिलो विकल्प हो, दोहा ट्रान्जिट।

दोहाका लागि सरकारले हप्तामा दुई वटा उडानलाई अनुमति दिएको छ। जसअनुसार ७ जुन (२४ जेठ) बाट लागू हुनेगरी प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजका १/१ वटा जहाजले उडान भर्दैछन्।

नेपाल एयरलाइन्सको जहाज प्रत्येक सोमबार काठमाडौंबाट राति १० बजे दोहाका लागि उड्ने छ। सोही जहाज अर्काे दिन बिहान ९ः १० बजे दोहाबाट यात्रु बोकेर काठमाडौं फर्किने छ। त्यस्तै दोहाबाट यात्रु बोकेर कतार एयरवेज भने सोमबार बिहान ९ः १० मा काठमाडौं अवतरण हुनेछ। उक्त जहाज सोही दिन बिहान ११ः ०५ बजे दोहा फर्किने छ।

त्यस्तै दोस्रो विकल्प हो, टर्कीको इस्तानबुल ट्रान्जिट।

टर्किसले प्रत्येक बिहीबार काठमाडौं–इस्तानबुल–काठमाडौ उडान भर्नेछ।

इस्तानबुलबाट नेपाल जाने यात्रु बोकेर जहाज बिहीबार बिहान सबा ११ बजे काठमाडौं पुग्ने छ। उक्त जहाज उता जाने यात्रु लिएर सोही दिन राति ११ः ५ बजे इस्तानबुल फर्किने छ।

यी त भए, विकल्प। सिधा उडान नभएको परिप्रेक्ष्यमा उत्तम विकल्प हो दोहा ट्रान्जिट। टर्की ट्रान्जिटभन्दा दोहा कम दूरी भएकोले यो सस्तो पर्न जान्छ। यसरी नेपाल पुग्ने यात्रुले सरकारले तोके बमोजिम पाँच दिन होटलको क्वारेन्टाइन,त्यसपछि दश दिन ‘होम क्वारेन्टाइन’ मा अनिवार्य बस्नुपर्ने छ। यसका लागि यात्रु आफैले खर्च गर्नुपर्ने छ। नेपाल जाँदा पीसीआर रिपोर्ट अनिवार्य जरुरी छ। नेपाल पुगेपछि पनि पीसीआर परीक्षण गर्नुपर्नेछ ।