मलेसियामा ‘सेक्युरिटी भ्यान’ दुर्घटना हुँदा एक नेपाली श्रमिकको निधन, ८ गम्भीर घाइते

मलेसियामा ‘सेक्युरिटी भ्यान’ दुर्घटना हुँदा एक नेपाली श्रमिकको निधन, ८ गम्भीर घाइते

जोहरबारु। मलेसियामा बुधवार बिहान एउटा ‘सेक्युरिटी भ्यान’ दुर्घटनाग्रस्त हुँदा एक नेपाली श्रमिकको घटनास्थलमै निधन भएको छ भने आठ नेपाली गम्भीर घाइते भएका छन्।

घटना जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवे (इडीएल) मा भएको थियो। ९ जना नेपाली श्रमिकलाई बोकेको ‘सेक्युरिटी भ्यान’ बाटोमा चिप्लिएर बिजुलीको खम्बामा ठोक्किएको थियो।

जोहरबारु दक्षिण ओसीपीए सहायक कमिशनर मोहम्मद पोड्जिली मोहम्मद जइनले स्थानीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार भ्यान स्थानीय ५३ वर्षीय मलेसियाली नागरिक मुसरिन तामाइसले चलाइरहेका थिए।

‘दुर्घटनापछि चालक तथा अगाडी सिटमा बसेका ३७ वर्षीय एक नेपाली गम्भीर घाइते भएका थिए। दुबैलाई चिकित्सकको टोलीले घटनास्थलमै निधन भइसकेको बताएको छ,’ बुधबार तामाइसद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

उनले घटनाको बारेमा थप जानकारीका लागि ट्राफिक अनुसन्धान अधिकारी इन्स्पेक्टर हाफिज जाफर माड अरिफलाई ०१७–५९१९२०८ मा खबर गर्न भनेका छन्। उनले घटनाको छानवीन सन् १९८७ को रोड ट्रान्सपोर्ट एक्ट अन्तर्गत हुने बताए।

उनले कोभिड–१९ को नियम उल्लंघन गरेर एउटै भ्यानमा यति धेरै मात्रामा श्रमिक ओसारेको विषयमा पनि छानवीन हुने बताए।

लार्किन दमकल तथा उद्धार विभागका अपरेशन कमाण्डर हाइजुरुल रहमदले १५ जनाको एउटा फायर इन्जिन र आकस्मीक स्वास्थ्य उद्धार टिमलाई घटनास्थलमा खटाइसकेको जानकारी दिए।

उनले घटना हुँदा चालक आफ्नो सिटमा रहेको तर अगाडी सिटमा बसेका सुरक्षागार्ड गाडीबाट बाहिर फेला परेको बताए। घटना स्थानीय समयअनुसार बिहान ७ बजेर ४५ मिनेटमा भएको थियो।

उनले घाइते अरु यात्रुको विषयमा थप जानकारी आउन बाँकी रहेको बताए। दुबै शव प्रहरीलाई बुझाइएको छ भने बाँकी घाइतेहरु सुल्तानाह अमिनाह अस्पतालमा उपचार गराइरहेका छन्।