यूएईमा श्रमिकलाई घाममा काम लगाउने कम्पनीलाई ५० हजार दिरामसम्म जरिवाना

यूएईमा श्रमिकलाई घाममा काम लगाउने कम्पनीलाई ५० हजार दिरामसम्म जरिवाना फाइल फोटो

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउने कम्पनीले ५० हजार दिरामसम्मको जरिवाना तिर्नुपर्ने छ।

यूएईको मानव संसाधन मन्त्रालयले बुधबार यसको घोषणा गर्दै तीन महिनाको नियम लागू गर्न सबै कम्पनीको नाममा उर्दी जारी गरेको छ।

सरकारले यसअघि नै घोषणा गरिसकेको छ, जुन १५ देखि दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन पाउने छैन। यो नियम सेप्टेम्बर १५ सम्म लागु हुनेछ।

नयाँ नियमअनुसार श्रमिकको दैनिक कामको अवधि ८ घण्टा बढी नहुने स्पस्ट पारिएको छ भने दिउँसो मध्य घाममा काम गर्न अफ्ठेरो भए साँझको समय परिवर्तन गर्न सकिने बताइएको छ।

कुनै पनि श्रमिकले २४ घण्टाभित्र ८ घण्टाभन्दा बढी काम गरेको छ भने उसलाई ओभर टाइमको पैसा उपलब्ध गराउन पनि नियममा स्पष्ट पारिएको छ।

सरकारबाट हालै जारी नियमको उल्लंघन भएको पाइएमा प्रत्येक श्रमिकबापत कम्पनीले ५ हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने उल्लेख छ।

यदि नियम विपरित धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म कम्पनीले जरिवाना तिर्नुपर्ने छ।