कुवेत : श्रमिकलाई दिउँसो काम लगाउन प्रतिबन्ध, नियमन गर्न बन्यो समिति

कुवेत । कुवेतले दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने नियम लागू गरेको छ। कुवेत पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) ले यो निर्णय लागु गरेको हो।
पीएएमका महानिर्देशक अहमद अल–माउसालले आइतबार विज्ञप्ती जारी गर्दै श्रमिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निर्णय लिएको जानकारी दिए।
उनले श्रमिकलाई अत्याधिक गर्मीबाट जोगाउनुका साथै कामको प्रक्रियालाई नियमन गर्ने उद्देश्यले दिउँसोको चर्को घाममा खुल्ला क्षेत्रमा काम गर्न÷ गराउन प्रतिबन्ध लगाइएको बताए।
कुवेतले गरेको यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ। निर्णय अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन पाइने छैन।
दिउँसोको समयमा काम गर्न / गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि (वर्किङ आवर) भने घटाइएको छैन। साँझ (तापक्रम कम भएको बेला) मा काम गरेर उक्त समयको क्षतिपूर्ति गर्न सकिने बताइएको छ।
निर्णय कार्यान्वयन गर्न प्राधिकरणले एक अनुगमन समिति बनाएको छ। अनुगमन टोलीले विभिन्न स्थानमा पुगेर नियमको पालना भए–नभएको निरीक्षण गर्नेछ। समितिले निर्देशन उल्लंघन गर्नेलाई कानूनी कारवाहीअघि बढाउन सिफारिस गर्ने बताएको छ।
तीन महिनाको अवधिमा अनुगमन टोलीले जतिबेला पनि छड्के जाँच (सरप्राइज इन्स्पेक्सन) गर्ने बताइएको छ।
ताजा अपडेट
