नेपाली श्रमिकद्धारा ठगी मुद्धामा मलेसियामा रहेको अमेरिकी टायर कम्पनीविरूद्ध मुद्धा दायर

नेपाली श्रमिकद्धारा ठगी मुद्धामा मलेसियामा रहेको अमेरिकी टायर कम्पनीविरूद्ध मुद्धा दायर अमेरिकी टायर निर्माता कम्पनी गुड्इयर कम्पनीको मुख्यालय

क्वालालम्पुर। नेपाली श्रमिक काम गर्ने मलेसियास्थित अमेरिकी टायर निर्माता कम्पनी गुड्इयर कम्पनीविरूद्ध यहाँको अदालतमा मुद्धा दायर भएको छ।

नियम विपरित श्रमिकको तलब कटौती गर्ने, विदेशबाट आएका कामदारको राहदानी कब्जा गरेर जबरदस्ती काम लगाउने र ओभर टाइमको अतिरिक्त रकम भुक्तान नगरेको भन्दै कम्पनीविरूद्ध अदालतमा मुद्धा दायर भएको हो।

यो कम्पनीमा नेपालबाहेक बर्मा र भारतका श्रमिक पनि कार्यरत छन्। बेलायतको न्युज एजेन्सी रोयटर्सले जनाएअनुसार कम्पनीमा कार्यरत ६ जनाले मुद्धा दायर गरेका थिए। सो कम्पनीमा कार्यरत एक श्रमिकले ८ वर्षपछि मात्र कम्पनीको कब्जामा रहेको पासपोर्ट आफूले पाएको उध्रित गरेका छन्। सो कम्पनीविरूद्ध सन् २०१९ र २०२० मा गरि तीन वटा मुद्धा परेको बताइएको छ। मलेसियाको श्रम विभागले सन् २०२० मा श्रमिकलाई गैरकानुनी रूपमा बढी समय काम लगाएको तथा प्रवासी श्रमिकलाई थोरै ज्याला दिएको मुद्धामा कारवाही गरिसकेको छ।

अहिले पनि श्रम विभागमा १ सय ८५ श्रमिकको मुद्धा विचाराधीन अवस्थामा छ। उनीहरूले मलेसियाको प्रचलित कानूनअनुसार आफूले पाउनुपर्ने सेवा सुविधा कम्पनीले नदिएको गुनासो गरेका छन्।

स्थानीय अदालतले श्रमिकहरूको हितमा फैसला गर्दै आइरहेको छ। त्यसैले यसपालि पनि मुद्धा श्रमिकको हकमा हुने बताइएको छ। मलेसियाको श्रम कानून अनुसार मासिक १ सय ४ घण्टाभन्दा बढी काम लगाउन नपाइने नियम छ। तर, अमेरिकी कम्पनीले २ सय २९ घण्टासम्म काम लगाएको पाइएको छ। रोयटर्सले श्रमिकका तर्फबाट मुद्धा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनलाई उध्रृत गर्दे लेखेको छ, ‘कम्पनीले श्रमिकसँग ५० लाख रिङ्गीट बराबरको श्रम ठगी गरेको छ।’

गुडइयर कम्पनी विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी हो। कम्पनीले अदालतको यसअघिको निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको छ। उच्च अदालतले आउँदो जुलाई २६ मा फैसला सुनाउने अपेक्षा गरिएको छ।

श्रमिकले हालेको तेस्रो मुद्दाको फैसला आगामी साता हुने अपेक्षा गरिएको छ।

कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका तथा कम्पनीविरुद्ध मुद्दा हाल्ने मध्येका नेपाली श्रमिक शरण कुमार राईले श्रमिकको डफ्फाअनुसार कम्पनीको नियम र व्यवहार फरक हुने बताए। कम्पनीले मुद्दा हाल्ने श्रमिकलाई मुद्दा फिर्ता लिन जबर्जस्ती सही गर्न बाध्य पारेको पनि खुल्न आएको छ। त्यस विरुद्ध पनि प्रहरीमा उजुरी परेको छ।

मलेसियाको श्रम विभागले सन् २०२० मा श्रम कानूनसँग सम्बन्धित अतिरिक्त घण्टा काममा लगाएको, गलत तरिकाले पारिश्रमिक कटौती गरेको लगायत ९ भन्दा बढी नियम उल्लंघनका घटनामा गुडइयरलाई ४१ हजार ५ सय रिङगीट जरिवाना तिराएको थियो।