अर्काे कार्यकाल गुरुङलाई अध्यक्ष बनाउने सहमतिमा एनआरएनए कतारमा अहिलेकै नेतृत्व दोहोरिने

अर्काे कार्यकाल गुरुङलाई अध्यक्ष बनाउने सहमतिमा एनआरएनए कतारमा अहिलेकै नेतृत्व दोहोरिने

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कतारको आगामी कार्यकालमा पुरानै नेतृत्व दोहोरिने सम्भावना प्रबल बनेको छ।

अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पदको निरन्तरता चाहेपछि अध्यक्षका प्रवल दावेदार वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष उत्तम गुरुङले पनि सहमति जनाएका छन्।

मुक्तदाले कोभिड–१९ को कारण आफ्ना धेरै काम अधुरो रहेको र त्यो पूरा गर्न निरन्तरता चाहेको बताएका थिए। यद्यपि मुक्तदाले यस बारेमा आधिकारिक जानकारी दिएका छैनन्।

दोहाबाट प्रवास खबरलाई प्राप्त विश्वस्त सूचना अनुसार आगामी २०२३–२०२५ कार्यकालमा गुरुङलाई अध्यक्ष बनाउने सहमति भएको छ । यसै कारण शुक्रबार भएको विशेष बैठकमा मुक्तदालाई पुन : अध्यक्ष बनाउन गुरुङ सहमत भएका हुन्।

२०२१–२०२३ कार्यकालको लागि एनसीसी कतारको ९ जुलाइमा निर्वाचन तालिका तय भएको छ। अहिले एनआरएनए कतारमा मध्यपूर्वकै सबैभन्दा बढी झण्डै ८ हजार सदस्य छन्।

गुरुङले अघिल्लो कार्यकालमा आफूलाई अध्यक्ष बनाउन लिखित सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए। मुक्तदासहित उनको टिम लिखित सहमति गर्न तयार भएपछि गुरुङ पछि हटेका हुन्।

मुक्तदा अध्यक्षमै दोहोरिने भएपछि गुरुङले पनि वरिष्ठ उपाध्यक्षमा निरन्तरता दिने भएका छन्। गुरुङसँगै वर्तमान कार्यसमितिमा महासचिव रहेका पदम गिरीले पनि सोही पदमै निरन्तरता दिने जनाएका छन्।

उत्तम गुरुङले यसबारे प्रवास खबरलाई जानकारी दिँदै भने, ‘हो मैले आगामी कार्यकालमा पनि प्रथम उपाध्यक्षमै उम्मेदवारी दिने निर्णय गरेको छु।’

त्यसो त यो समूह एउटै प्यानल हाे। अघिल्लो निर्वाचनमा पनि एउटै टिम बनाएर चुनावमा होमिएको थियो । मुक्तदाले नेतृत्व गरेको समूहका उम्मेदवारले ‘क्लिन स्विप’ गरेको थियो।

अध्यक्ष पदमा मुक्तदाले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए। प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मतलाई ९ सय ४० भोटले उछिन्दै मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै गुरुङले २ हजार १ सय ९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए।

उसो त यो टिम सहमतिमा आउँदैमा निर्विरोध पदाधिकारी चयन हुने छैनन्। चुनावी मैदानमा उत्रिनु पर्ने हुन्छ । अर्काे समूह पनि नेतृत्व दावी गर्दै चुनावमा उत्रिने छ ।

मुक्तदाको यो टिमले अहिलेसम्म प्रमुख तीन वटा पदमा टुंगो लगाइसकेको छ । अन्य पद कसरी मिलाइने त्यसको टुंगो लगाउन बाँकी छ।

अध्यक्ष पदकै लागि प्रवासी नेपाली मञ्च (केपी ओली निकट) का राष्ट्रिय समिति सदस्य चुडामणि कार्कीले उम्मेदवारी दिने हल्ला चलेको छ। यद्यपि अहिलेसम्म कार्कीले कुनै प्रतिक्रिया जनाएका छैनन्।

अहिलेको कार्यसमति एउटै समूहको भएको र प्रमुख पदमा समेत सहमति जुटिसकेको अवस्थामा यहि कार्यसमितिले निरन्तरता पाउने प्रवल सम्भावना देखिन्छ।