मृतक परिवारले पाउने क्षतिपूर्ति हिनामिना, एनआरएनए जापानका अध्यक्ष भण्डारीको राजीनामा माग

मृतक परिवारले पाउने क्षतिपूर्ति हिनामिना, एनआरएनए जापानका अध्यक्ष भण्डारीको राजीनामा माग आइतबार पत्रकार सम्मेलनमा भण्डारी

टोकियो। लोभको कुनै उपचार हुँदैन भन्छन्। यस्तै एउटा घटना सुविधा सम्पन्न देश जापानमा भएको छ। गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारी दुर्घटनामा ज्यान गुमाएका एक नेपालीको परिवारले पाउनुपर्ने क्षतिपूर्तिको रकम हिनामिना गरेको गम्भीर आरोपमा मुछिएका छन्।

यो घटनापछि उनीविरुद्ध राजीनामाको आवाज उठेको छ। अध्यक्ष भण्डारीले आफूमाथि लागेको आरोप मिथ्या भएको भन्दै राजधानी टोकियोमा पत्रकार सम्मेलन पनि गर्न खोजेका थिए। तर, पर्याप्त प्रमाण पेश गर्न नसकेपछि उनले कार्यक्रम स्थगित गरे।

भण्डारीमाथि यसअघि पनि प्रश्न उठेको थियो। एनआरएनए जापानको उपाध्यक्ष हुँदा उनले जापानमा दुर्घटनामा निधन भएका एक दर्जनबढी नेपालीको सद्गद्को जिम्मेवारी लिएका थिए।

 

तर, उनीमाथि एकपछि अर्को गर्दै विभिन्न घटनामा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो।

सन् २०१७ मा निधन भएका हृदयस जिसी र सन् २०१९ मा निधन भएकी ममता तामाङको विषयलाई लिएर उनीमाथि प्रश्न उठेको थियो। उनले आफूमाथि उठेका बिषयमा स–प्रमाण पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने घोषणा गरेका थिए।

तर, पत्रकार सम्मेलनमै उनीमाथि आर्थिक अनियमितताको एक दर्जन आरोप लाग्यो। भण्डारीले कागजात पेशगर्दै केही विषयमा आरोपको खण्डन गर्न खोजेका थिए। तर जिसीको नेपालस्थित परिवारसँग लिएको नगद १३ लाख रुपैयाँ तथा ममताको मुद्धामा ३५ लाख खर्चेको कुनै पनि प्रमाण उनले पेश गर्न सकेनन्।

आरोपका विषयमा प्रमाण जुटाउन नसकेपछि भण्डारी छिट्टै प्रमाण संकलन गरेर पत्रकार सम्मेलन गर्ने भन्दै बाहिरिएका थिए।