अवस्था बिग्रिएपछि मलेसियामा फेरि पूर्ण ‘लकडाउन’

अवस्था बिग्रिएपछि मलेसियामा फेरि पूर्ण ‘लकडाउन’ तस्वीर : रोयर्टस

क्वालालम्पुर। मलेसियामा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि सरकारले जुन १ देखि लागू हुनेगरि १४ दिनका लागि पूर्ण ‘लकडाउन’ गर्ने भएको छ।

प्रधानमन्त्री तान श्री मुहिद्धिन यासिनको अध्यक्षतामा शुक्रबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले जुन १ देखि १४ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा कोभिड–१९ संक्रमितको संख्या दिनहुँ ८ हजारको हाराहारीमा भेटिन थालेपछि यस्तो निर्णय गर्नुपरेको बताइएको छ।

मलेसियामा हाल पनि ७० हजार सक्रिय संक्रमित छन्। सरकारले राष्ट्रियव्यापी ‘लकडाउन’ को निर्णण गरे पनि आवश्यक व्यापार तथा अत्यावश्यक सेवा क्षेत्र भने खुला राख्ने बताएको छ।

हालसम्म २५ सय ५२ जनाको निधन भइसकेको छ। नयाँ र अधिक प्रभाव पार्ने भाइरसको ‘भेरियन्ट’ फेला परेपछि सरकारले तत्काल यो निर्णय लागू गर्नुपरेको हो।