अध्यक्ष पदका बलियो प्रत्यासी कृष्ण लामिछानेको असन्तुष्टी– ‘मौन अवधिमा पनि प्रचार भयो’

अध्यक्ष पदका बलियो प्रत्यासी कृष्ण लामिछानेको असन्तुष्टी– ‘मौन अवधिमा पनि प्रचार भयो’

टेक्सस। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनाव आजबाट सुरु हुँदैछ।

शनिबार र आइतबार अनलाइनमार्फत अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीले आफ्नो नेता चुन्दै छन्। मौन अवधि सुरु भएपनि अध्यक्ष पदका केही प्रत्यासी चुनाव प्रचारमा लागेको भन्दै कृष्ण लामिछानेले असन्तुष्टी जाहेर गरेका छन्।

लामिछाने पनि अध्यक्ष पदका प्रत्यासी हुन्। गोरखा निवासी लामिछाने विगत दुई दशकअघि अमेरिका आएका थिए। उनी १४ वर्षदेखि एनआरएनएको अभियानमा क्रियाशील छन्। अमेरिकामा बसोबास गर्ने नेपाली माझ उनको परिचय सामाजिक अभियन्ताको छ। उनी भन्छन्, ‘अब कसैको झोला बोकेर हिँड्ने दिन गए। सबैले आफ्नो विवेक प्रयोग गर्नुहोला।’

२० हजार १ सय ३९ कूल मतदाता रहेको अमेरिकामा लामिछाने अध्यक्षका प्रबल दावेदार मानिन्छन्। कोरोना महामारीका बीच पनि उनले अमेरिकाको विभिन्न राज्यको ४० शहर पुगेर गैरआवासीय नेपालीलाई सुसुचित गर्ने काम गरेका थिए।

अमेरिकामा बसोबास गर्ने नेपालीलाई कोरोनाको संकटमा सहयोग गर्न उनी दिनरात खटिएका व्यक्ति हुन्। आचारसंहिता उल्लंघन गर्दै केही उम्मेदवार अझै चुनावी अभियानमा लागेपनि मतदातालाई कसैको प्रभावमा नपर्न उनले सुझाव दिएका छन्। उनी भन्छन्, ‘कसैले तपाईको आइडी माग्यो भने नदिनुहोला। मतदान आफैले गर्न आग्रह गर्दछु।’

लामिछानेले टेक्सासमा हिन्दु मन्दिर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विदेशमा बसोबास गरेपनि नेपाली भाषा साहित्यको उत्थानका लागि उनले एनआरएनएले गठन गरेको भाषा साहित्य विभागको अन्तर्राष्ट्रिय संयोजक भएर काम गरेका छन्।

उनले एनआरएनए अमेरिकाको समिति सदस्य हुँदा कक्षा १ देखि ६ सम्मका विधार्थीका लागि किताब प्रकाशित गराउन योगदान दिएका थिए।

उनले अमेरिकामा रहेका नेपाली समुदायलाई मर्दापर्दा ‘गो फण्ड’ मार्फत सहयोग गर्दै आइरहेका छन्।

एनआरएनए अमेरिकालाई साँचो अर्थमा विशुद्घ सामाजिक सँस्था बनाउने उनको योजना छ। हाल अध्यक्ष पदका लागि लामिछानेसहित डा. अर्जुन बञ्जाडे, बुद्धि सुवेदी र तिलक केसीको उम्मेदवारी परेको छ।

अध्यक्ष बन्न लामिछाने मैदानमा, भन्छन्– सज्जन मान्छेलाई एकजुट गरेर गलत प्रवृत्ति पन्छाउँछु