जापानमा एक नेपाली युवाको शंकास्पद अवस्थामा निधन

जापानमा एक नेपाली युवाको शंकास्पद अवस्थामा निधन सांकेतीक तस्वीर

साइतामा, जापान। जापानको साइतामा प्रान्तमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्।

श्रोतका अनुसार निधनको केही दिनपछि मृत अवस्थामा फेला परेका कारण शव बिग्रिएको अवस्थामा फेला परेको छ।

शव अन्दाजी ३५ वर्षका पाण्डे थरको भएको बुझिएको छ। नेपालमा उनको घर नवलपरासी बर्दघाट भएको खुल्न आएको छ।

निधन बारे जानकारी मे २७ बिहीबार बिहान मात्र खुलेको हो। निधन भने केही दिनअघि नै भएको जापानी प्रहरीले बताएको छ। हाल शव पोस्टमार्टमका लागि प्रहरीको नियन्त्रणमा छ।

मृतक पाण्डेको शव उनी बस्दै आएको साइतामास्थित तोकुरोजावाको उनी बस्ने घरको कोठामा फेला परेको हो।

पाण्डेको श्रीमती जापानमै रहे पनि उनी गुन्माकेनमा बस्दै आएको श्रोतले बताएको छ।

निधन भएका पाण्डे एक महिना अघिमात्र नेपालबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए। उनी काममा नगइ कोठामै बस्दै आएको बुझिएको छ। निधनको कारण खुल्न सकेको छैन।