यूएईमा कामविहीन १०९ नेपालीलाई एनआरएनद्धारा राहत वितरण

यूएईमा कामविहीन १०९ नेपालीलाई एनआरएनद्धारा राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले यूएईमा कामविहीन भएका १०९ जना नेपाली श्रमिकलाई राहत वितरण गरेको छ । विभागले एनआरएनए यूएईको समन्वयमा कोभिड–१९ राहत,व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत यूएईका विभिन्न शहरमा थप १०९ नेपालीलाई खाद्यान्न सहयोग गरेको हो।

परियोजनाका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार केन्द्रको सहकार्यमा एनआरएनए यूएईले पीडित नेपालीलाई राहत वितरणलाई निरन्तरता दिइरहेको छ।

सोही अनुरुप पछिल्लो समय अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरिएको हो। त्यसपछि अलएन र दुबईमा चार समूहका १५ जना नेपाली श्रमिकलाई खाद्यान्न उपलब्ध गराइएको छ ।

त्यसैगरी अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएका कारण बिचल्लीमा परेका ५ नेपालीलाई पनि संघले सहयोग गरेको छ । यस्तै आबुधाबीको मुसाफामा समस्यामा परेका सेक्युरिटी कम्पनीका ६ र दुबईको सोही सेक्युरिटी कम्पनीमा कार्यरत दुई नेपालीलाई पनि संघले खाद्यान्न सहयोग गरेको छ।

त्यस्तै भिजिट भिसामा काम खोज्न यूएई गएर अबुधाबीको लाइफलाइन एरियामा समस्यमा परेका एक युवालाई पनि संघले सहयोग गरेको छ।

पीडित ती नेपालीले एनआरएनए समक्ष आफूहरुको एक वर्ष अगाडिदेखि भिसा सकिएको बताएका थिए । तीमध्ये कतिपयले ६ महिनासम्मको तलब समेत नपाएको गूनासो गरेका छन ।

बद्री संयाेजक डा. केसीले विदेशमा अलपत्र परेका नेपालीलाई राहत दिन र उद्वार गर्न संघका स्वंयसेवी दिनरात खटिरहेको बताए।