टर्कीका नेपाली : जसले असहज परिस्थितिमा देशप्रतिको दायित्व बिर्सिएनन्

टर्कीका नेपाली : जसले असहज परिस्थितिमा देशप्रतिको दायित्व बिर्सिएनन्

‘परदेशमा रहँदाको अप्ठेरो, भोक–रोगको डर, बेरोजगारी भोगेका छौं। आफ्नै जन्मभूमि फर्कने रहर र इच्छा मनमनै मार्दै बस्यौ,’ गत वर्ष टर्कीमा कार्यरत राजन योञ्जनले त्यहाँ रहेका नेपालीले झेलेको समस्याबारे भनेका थिए, ‘टर्कीमा रहेका नेपालीको दुःखपीडालाई नेपाल सरकारले कहिल्यै सुनेन, सुनाउँदा पनि कान थुनेर बसिदियो। हामीलाई कस्तो छ भनेर एक वचन पनि सोधेन।’

गत वर्ष चीनको उहानबाट फैलिएको कोरोना भाइरस संसारको कुना–कुनासम्म पुगेर आतंक मच्चायो। मध्यपूर्वी र युरोपको सीमामा रहेको टर्कीमा पनि यसको व्यापक असर पर्‍याे। संक्रमणलाई नियन्त्रण गर्न भन्दै त्यहाँको सरकारले पनि अन्यत्र जस्तै लकडाउन गर्‍याे। तर, छोटो समयमा संक्रमण नियन्त्रणमा आएन, लकडाउन लम्बियो।

चलिरहेका कम्पनी ठप्प भए। व्यापार, व्यवसाय चौपट भयो। धेरै नेपालीले रोजगारी, व्यापार,व्यवसायबाट विस्थापित हुन बाध्य हुनुपर्यो। भिजिट भिसामा काम खोज्न त्यहाँ पुगेका नेपाली पनि काम नपाएपछि सडकमा पुगे। आम्दानीविहिन उनीहरूलाई भोक टार्न मुस्किल पर्‍याे। उनीहरूसँग एउटै विकल्प थियो, जसरी हुन्छ देश फर्किने।

तर, देश फर्किन सोचे जस्तो सजिलो थिएन। त्यसैबेला विदेशबाट कोरोना आयत हुने डरले नेपालले अन्तर्राष्ट्रिय उडान ठप्प पार्‍याे। अर्थात आफ्नो देश आउने बाटो नै बन्द गरिदियो। उडान प्रतिबन्ध लामो समय रहयो।

उता टर्कीमा नेपालीको जनजीवन थप कष्टकर बन्यो। केही समय त आप्रवासीको हितमा काम गर्ने संघ–संस्था तथा टर्कीका स्थानीय परोपकारी संस्थाले समस्यामा परेका यी नेपालीको खरो धान्न (भोक मेटाउन) मद्धत पनि गरेका थिए। तर, लामो समयसम्म उनीहरूले मात्र के पो गर्न सक्थे र ? समस्या थप बढ्यो।

नियमित उडान बन्द गर्दा विदेशमा समस्या पर्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गयो। ‘नागरिकलाई आफ्नै देशमा जान प्रतिबन्ध लगाउनु नैसर्गिक अधिकारको हनन् भयो’ भन्दै व्यापक विरोध भयो। समस्या बढ्दै गएपछि अलपत्र परेका श्रमिकले दूतावासको गेटसम्म पुगेर नारावाजी गरे।

यता नेपालमा परिवारले पनि हारगुहार गर्न थाल्यो। चौतर्फी दबाब बढेपछि सरकारले चार्टर्ड उडानबाट अलपत्र श्रमिक स्वदेश फर्कन पाउने निर्णय लियो, त्यो पनि चर्को भाडादर र निजी खर्चमा।

विभिन्न देशबाट चार्टर्ड जहाजले भटाभट श्रमिक बोक्न थाले। मिडियामा दैनिक जसो यो देशबाट यति फर्र्किए, त्यो देशबाट यति भनेर समाचार आउन थाले।

टर्कीमा थलिएर बसेका नेपाली सरकारको मुख हेरेर बसेका थिए, हामीलाई पनि ल्याउन सरकारले जहाज पठाउँछ भनेर। उनीहरूले पटक–पटक नेपाल सरकारलाई आग्रह पनि गरेका थिए, जहाज पठाउन। तर, उनीहरूको आग्रह काठमाडौंबाट बेवास्ता भएको उनीहरूको गुनासो थियो। आफ्नै मुलुकले उपेक्षा गर्दा उनीहरू थप दुखित भए। टर्कीबाट नेपाली फर्काउँदा फाइदा नहुने देखेपछि सरकारले वास्ता नगरेको उनीहरूको आरोप थियो।

सरकारले चासो नदेखाएर निरिह बनेका उनीहरूलाई धेरै प्रयासपछि टर्कीस एयरलाइन्सबाट एउटा अवसर मिल्यो। अमेरिकाबाट नेपाली बोकेर इस्तानबुल हुँदै काठमाडौँ आउन लागेको टर्कीस एयरलाइन्सको चार्टर्ड फ्लाइटमा सिमित सिट उनीहरूले पाए। यसरी टर्कीमा समस्या परेका नेपालीहरू क्रमशः ट्रान्जिट फ्लाइटको मौका छौप्दै फर्किएका थिए।

‘हालखबर समेत नसोध्ने सरकारले चार्टर्ड विमान पठाउने त कुरै भएन। सरकारले वास्ता नगरे पनि हामीले हिम्मत हारेनौं। घर फर्कने प्रयास गरिरह्यौं,’ समस्यामा परेका केही नेपालीलाई भए पनि नेपाल पठाउन पाएकोमा खुशी हुँदै त्यतिबेला योञ्जनले भनेका थिए, ‘तर,सजिलो थिएन। तनावमा पनि आयौं। अन्ततः थोरै भएपनि नेपाली फर्काउन सफल भयौँ।’

समस्या उस्तै

टर्कीमा अहिले पनि समस्या नै छ। कोरोनाको दोस्रो लहरको प्रभाव त्यहाँ पनि परेकै छ। अहिले हप्तामा दुईदिन शनिबार र आइतबार ‘लकडाउन’ छ। अन्यदिन पनि होटल, रेस्टुरेन्टले डेलिभरी मात्र दिन पाउँछन्। त्यहाँ रहेका धेरै नेपाली काम गर्ने सेवा प्रदायक क्षेत्रमा हो। त्यसैले रोजगारी पनि प्रभावित भएको छ।

‘कोभिडले यहाँ रहेका नेपालीलाई निकै गाँजेको छ,’ उनै योञ्जनले अहिलेको टर्कीको अवस्थाबारे प्रवास खबरसँग कुरा गर्दै भने,‘ कतिपयले समयमा तलब पाएका छैनन्। तलब पाए पनि आधामात्र पाएका छन्। केही बेरोजगार भइसकेका छन्।’

अझ अर्काे नरमाइलो कुरा टर्कीमा रहेका नेपालीलाई आफूले भोगेका दुःख सुनाउने आधिकारिक ठाउँ समेत छैन। टर्कीमा नेपाली दूतावास छैन। पाकिस्तानको इस्लामाबादमा रहेको नेपाली दूतावासले नै टर्कीमा रहेको नेपालीहरूको समस्या हेर्ने जिम्मेवारी पाएको छ। यो भनेको सात कोस टाढा हो। यस्तो अवस्थामा टर्कीमा कार्यरत नेपालीले दूतावासमा आफ्ना पीडा कसरी सुनाउने? अन्य देशमा जस्तो दूतावासको गेटमा गएर शरण पर्ने अवस्था पनि छैन।

टर्कीमा गैरआरवासीय नेपाली संघ (एनआरएनए) को उपस्थिति पनि धेरै भएको छैन। डेढ वर्षअघि स्थापना भएको एनआरएनएले आफ्नो पहिलो कार्यकाल पूरा गर्न पाएको छैन। नयाँ गठन, त्यसमा पनि समस्याग्रस्त समयमा जन्मेको संस्था–अन्यत्र झै शक्तिशाली एनसीसी परेन। पदाधिकारीहरू आफैै समस्यामा छन्। जसले गर्दा आर्थिक रुपमा सबल हुने कुरा पनि भएन।

तर, पनि एनआरएनएले आफ्नो प्रयास जारी राखेको छ। एक्लो प्रयासले केही गर्न नसकेपनि केन्द्रसँगको समन्वयमा समस्या समाधानको प्रयासमा छ। त्यसैले नेपालीका लागि झिनो आशा पनि छ।

‘अहिले दोस्रो लहरमा संक्रमित नेपालीको दर बढ्दो छ। हालसम्म खराबस्थिति आइसकेको छैन,’ योञ्जनले सुनाए,‘अब अगाडीका दिनमा के होला, कसो होला भन्ने पिरलो छदैछ।’

देश संकटमा पर्दा नथामिएको मन

नेपालमा पछिल्लो समय नयाँ ‘भेरियण्ट’ को कोरोनाले भयावह अवस्था सिर्जना गरेपछि एनआरएनएको केन्द्रीय समितिले आपत्कालीन बैठक बोलायो। बैठकले नेपालमा अभाव रहेका स्वास्थ्य सामग्री तत्कालै पठाउने निर्णय गर्‍याे। अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री पठाउने निर्णय भयो। त्यही निर्णयका आधारमा कतिपय देशबाट नेपालमा स्वास्थ्य सामाग्री आइसकेका छन् भने कतिपय देशबाट खरिद प्रक्रिया सकाएर आउने क्रम जारी छ। त्यस्तै नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट सञ्चालन गर्न एनआरएनएको तयारी पनि छ।

देश संकटमा गुज्रिरहेको बेला टर्कीमा बस्ने नेपाली पनि दुःखी बने। एकातिर आफै ठूलो समस्या छन्, अर्कोतिर देशमा आफन्तको रोदन उत्तिकै। प्रतिकुल अवस्थामा पनि सकेको सहयोग टर्कीबाट गर्नुपर्छ भन्ने भाव उनीहरूमा देखिन्छ।

एनआरएनए केन्द्रीय समितिले चलाएको सहयोग अभियानमा टर्कीले पनि हातेमालो गरेको छ। उपाध्यक्ष श्यामकला राईको नेतृत्वमा सहयोग संकलन अभियान चलेको छ। यो अभियान अनुमान गरेभन्दा छिटो र बृहत बनेको योञ्जन बताउँछन्। योञ्जन एनआरएनएका सक्रिय अभियन्ता समेत हुन्।

‘छोटो समयमै २ लाख ५० हजार रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ। आफू समस्यामा रहँदा पनि गाँस काटेर टर्कीका नेपालीले गरेको यो सहयोग सराह्नीय छदैछ, अमूल्य पनि’ योञ्जनले भने,‘सहयोग दिनेमा जागिर गुमाएर बसेका नेपाली समेत धेरै छन्।’ संकलन भएको रकम केही दिनमै केन्द्रलाई पठाइने उनको भनाइ छ।

आफै रोजगारी गुमाएर पीडामा बसिरहेका टर्कीका नेपालीले देश समस्यामा पर्दा पनि आफ्नो दायित्व बिर्सिएका छैनन्। सायद आगामी दिनमा पनि बिर्सिने छैनन्।