ठूलो मार उडान बन्द गर्दा भयाे, २६ शव अड्किए : राजदूत पाण्डे मलेसिया

ठूलो मार उडान बन्द गर्दा भयाे, २६ शव अड्किए : राजदूत पाण्डे मलेसिया

मलेसियामा पनि कोभिडको दोस्रो लहरको प्रभाव परेको छ। केहि दिनयता संक्रमितको संख्या बढीरहेको छ। गत चार÷पाँच दिनयता दैनिक ६ हजार बढी संक्रमण पुष्टी हुन थालेका छन् । नेपाली कामदार पनि यसबाट अछुतो छैनन्। उनीहरू पनि संक्रमणको उच्च जोखिममा छन्।

हालसम्म कति नेपाली संक्रमित भए, ठ्याक्क यसको यकिन तथ्यांक हामीसँग छैन। किनभने मलेसियाली सरकारले सबै देशका नागरिकहरूको छुट्टाछुट्टै तथ्यांक सार्वजनिक गर्दैन। नेपाली रहेका विभिन्न कम्पनी र संघ–संस्थाले दिएको जानकारी अनुसार हालसम्म झण्डै ५ हजार नेपाली संक्रमित भएका छन्। कोभिड–१९ का कारण ९ नेपालीको मृत्यु भइसकेको छ।

केही दिनयता मलेसियामा पनि कोभिडको स्थिति भयावह छ। अवस्था अलिकति जटिल नै बन्दै गइरहेको छ। तर, पहिलो लहरमा जस्तो नेपालीले समस्या भोग्नु परेको रिपोर्ट हामी कहाँ आइसकेको छैन। अघिल्लो वर्षको कोभिडमा कम्पनी बन्द भएर थुप्रै नेपाली कामदारको रोजगारी प्रभावित भएको थियो। जसले धेरै नेपालीलाई खान/बस्न समस्या भएको थियो। यस्तो अवस्था विगतभन्दा कम छ। गुनासा अत्यन्त थोरै संख्यामा दूतावासमा आएका छन्।

हामी समक्ष आएका समस्यालाई सम्बोधन गरिहेका छौँ। समस्या लिएर आउनु भएकालाई खान र बस्नको व्यवस्था गरिदिने गरेका छौँ।

अहिले सबैभन्दा ठूलो मार उडान बन्द गर्दा भएको छ। उडान नहुँदा यहाँ ज्यान गुमाएका श्रमिकको शव नेपाल पठाउन सकिएको छैन। २६ वटा शव अड्किएर बसेको अवस्था छ। यी शवलाई कसरी पठाउने भन्ने समस्या छ। नेपालबाट आफन्तले तारम्तार हामीलाई फोन गरिरहनु भएको छ, शव पठाइदिन आग्रह गर्दै। तर, हामीसँग विकल्प छैन।

यहाँको दोस्रो समस्या भनेको जेलमा बन्दी अवस्थामा रहेका नेपालीहरू हुन्। धेरैले कैद अवधि भुक्तान गरिसकेका छन्। तर, उनीहरूलाई नेपाल पठाउन सकिएको छैन। यस बीच दूतावासले विशेष पहल गरेर कैद भुक्तान गरिसकेका नेपालीलाई देश फर्काउन खोजेको थियो। तर, टिकट पाइएन। उनीहरूलाई विभिन्न संघ–संस्थासँग समन्वय गरेर टिकट उपलब्ध पनि गराएका थियौं। तर, जहाज उड्ने अत्तोपत्तो छैन।
हामीले देश फर्किन चाहने ५ सय नेपालीलाई टिकट पनि उपलब्ध गराएका थियौँ। जसमा जेल सजाय भुक्तान गरेका थप ३६ नेपाली पनि थिए। सबैको हवाइ टिकटको व्यवस्था गरेका थियौँ। तर, उडान नहुँदा सबै अड्किएका छन्।

उडान नखुलेको अवस्थामा चार्टर्ड फ्लाइटबाट पठाउँदा महंगो हुन्छ । यस्तै, अर्को समस्या अहिले करार अवधि सकाएका कामदारको पनि छ। मलेसियामा हरेक साता करिब ५ सय नेपालीको करार सम्झौता पुरा हुन्छ। करार सकिएपछि सबै स्वदेश फर्किन चाहन्छन्। तर, उडान नहुँदा ठूलो समस्या परेको छ।

मलेसियाले आउँदो जुन अन्तिमसम्म यहाँ गैरकानूनी (अनडकुमेण्ट) तवरले बसिरहेका त्यस्ता नेपालीलाई ५ सय रिंगेट जरिवाना तिरेर मात्र स्वदेश फिर्न दिन्छ। उडान सूचारु नहुँदा र यो सुविधाको म्याद सकिएको खण्डमा पनि नेपालीलाई समस्या हुन्छ। यो अवसरको सदुपयोग गरेर नगएका नेपालीलाई पछि यहाँको प्रहरीले १० हजार रिंगेट जरिवाना र जेल सजाय गर्ने बताएको छ।

हामीले पटक–पटक नेपाल सरकारलाई उडान सूचारु गरिदिन अनुरोध गरिरहेका छौँ। सातामा कम्तिमा एउटा ‘वाइड बडी’ जहाज पठाइदिन भनेका छौँ। ‘वाइड बडी’ जहाजको यसकारण पनि हामीले माग गरेका हौं, जसले यहाँ अड्किएका शव, जेल भुक्तान गरिसकेका श्रमिक, करार अवधि सकाएका श्रमिक र आममाफी पाएका श्रमिकलाई लैजान सहज हुन्छ।

यो बाहेक मलेसियामा रहेका विभिन्न संघ–संस्था तथा कम्पनीले स्वास्थ्य सामग्री नेपाल पठाउन दूतावासलाई दिएका छन्। यी सामग्री देश हितमा पठाउन पनि जहाज जरुरी परिसकेको छ।

(रोलिङ्ग नेक्ससले ‘कोभिड महामारीमा वैदेशिक रोजगारीमा रहेकाहरूको चुनौति’ विषयक कार्यक्रममा राजदूत पाण्डेले गरेको कुराकानीको सम्पादित अंश)