जर्मनीमा बेलायती नागरिकलाई अस्थायी प्रतिबन्ध

जर्मनीमा बेलायती नागरिकलाई अस्थायी प्रतिबन्ध File Photo

फ्र्याकफर्ट। जर्मनीले बेलायती नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको छ।

चार महिनापछि बेलायतमा कोरोना भाइरसको संक्रमण बढेसँगै जर्मनीले यस्तो निर्णय लिएको हो।

एक सातायता बेलायतमा १२ प्रतिशत कोरोना संक्रमित बढेका छन्। बेलायतले गत सातादेखि ‘अनलक’ गरेको थियो। यसैबीच योर्कसायरमा ‘ट्रिपल म्युटेशन’ को भेरियन्ट फेला परेपछि बेलायतमा चिन्ता बढेको छ।

चिकित्सकले नयाँ भेरियन्टले पहिलेको तुलनामा धेरै मानिस संक्रमित भइरहेको बताएका छन्। बेलायतको स्वास्थ्य सचिव म्याट हेनककले योर्कसायरमा ‘ट्रिपल म्युटेन्ट’ को नयाँ भेरियन्ट फेला परेको पुष्टी गरिसकेका छन्। नयाँ स्ट्रेनको नाम वीयूआई–२१ एमएआई–०१ राखिएको छ।

योर्कसायरमा मात्र हालसम्म नयाँ स्ट्रेनका ४९ संक्रमित पुष्टी भइसकेका छन्। आइतबार फ्रान्सले पनि बेलायती नागरिकलाई प्रतिबन्ध लगाउने संकेत गरेको छ। बेलायतमा शनिबार कोरोनाको २६ सय ९४ नयाँ संक्रमित फेला परेका थिए। २८ दिनयता ४८ मानिसको निधन पनि भइसकेको छ।

बेलायतमा हालसम्म ४४ लाख ६० हजार कोरोना संक्रमित भेटिएकोमा ४३ लाख ठिक भइसहेका छन्। बेलायतले ३३ प्रतिशत नागरिकलाई खोप लगाइसकेको छ।

जर्मनीले आइतबारदेखि लागु हुनेगरि हवाइजहाज, रेल र बस कम्पनीमा पनि बेलायती नागरिक ओसार्न प्रतिबन्ध लगाएको छ। बेलायतबाट फर्किने जर्मन नागरिकले पनि दुई साता क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको छ।