आप्रवासीको लागि असल गन्तव्यको उच्च श्रेणीमा ओमन

आप्रवासीको लागि असल गन्तव्यको उच्च श्रेणीमा ओमन फाइल फोटो

मस्काट। इन्साइडर रिपोर्टले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा ओमन आप्रवासीका लागि सुरक्षित र मैत्रीपूर्ण गन्तव्यमा सूचीकृत भएको छ। उक्त रिपोर्टमा ५९ देशमध्ये ओमन २४ औं स्थानमा पर्न सफल भएको हो। बसाइँ सहजता (सेटलिङ इन्डेक्स) को आधारमा भने ओमन छैठौं स्थानमा परेको छ।

प्रतिवेदन अनुसार यहाँका स्थानीयको मैत्रीपूर्ण व्यवहारबाट ८३ प्रतिशत विदेशी प्रभावित भएको बताइएको छ। जुन तथ्यांक विश्वभरको कूल ६७ प्रतिशतभन्दा निकै बढी हो। यसै सन्दर्भमा फिलिपिन्सका एक प्रवासी श्रमिकले ‘ओमनका स्थानीय एकदमै मिलनसार र सहयोगी भावनाको रहेको’ बताएका थिए।

त्यस्तै ५८ प्रतिशत विदेशीले स्थानीयसँग मित्रता गाँस्न सजिलो भएको बताएका छन्। विश्वभरका प्रवासीको हकमा यो ४४ प्रतिशत मात्र रहेको छ। ओमनमा ६० प्रतिशत प्रवासी तथा स्थानीयको मिश्रित मित्र रहेको पाइएको छ, जुन तथ्यांक विश्वभरमा ४८ प्रतिशत मात्र छ।

ओमनको स्थानीय संस्कृतिसँग पारिवारिक अनुभूति हुनेको प्रतिशत ६९ प्रतिशत छ, जुन तथ्यांक विश्वभरमा ६३ प्रतिशत छ। त्यस्तै ८४ प्रतिशत प्रवासीलाई स्थानीय भाषा प्रयोग गर्नु नपरेकोले बोलचालको लागि ओमनमा सजिलो भएको पाइएको छ, जुन विश्वभरमा जम्मा ५४ प्रतिशत रहेको छ।

झन्डै ९५ प्रतिशत प्रवासीको लागि ओमन बस्न शान्त क्षेत्र रहेको पाइयो। विश्वभरका प्रवासीको हकमा आफू रहेको देशलाई शान्त मान्नेको प्रतिशत ८० रहेको छ। यसका मापदण्ड अनुसार ओमन विश्वभरमा दोस्रो स्थानमा रहेको छ। श्रीलंकाका एक प्रवासीले यस सन्दर्भमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘यहाँ आफ्नो परिवारसँग बस्नको लागि एकदमै शान्तिपूर्ण वातावरण छ।’

त्यसैगरी, विश्वभरको तत्यांक केलाउँदा आफू रहेको देशको राजनीतिक स्थिरता प्रति सन्तुष्ट रहेका प्रवासीको प्रतिशत जम्मा ६४ छ। ओमनको सन्दर्भमा भने ९१ प्रतिशतभन्दा बढी प्रवासीहरु त्यहाँको राजनीतिक स्थिरता प्रति सन्तुष्ट छन्।

ओमन गुणस्तरीय जीवन इन्डेक्समा ३२ औं स्थानमा, सुरक्षासम्बन्धी इन्डेक्समा छैठौं स्थानमा र वातावरणीय उपसमूहमा १७औं स्थानमा परेको छ। ओमनमा रहेका आप्रवासीमध्ये ७९ प्रतिशत त्यहाँको हावाको गुणस्तर प्रति सन्तुष्ट छन्, जुन विश्वमा जम्मा ६६ प्रतिशत मात्र रहेका छन्।

वैदेशिक रोजगारीमा प्रवासी श्रमिकको संलग्नताको हिसाबले ओमन ४९ औं स्थानमा छ। २४ प्रतिशत प्रवासी त्यहाँ आफ्नो करियर प्रति सन्तुष्ट छन्। विश्वको हकमा ४५ प्रतिशत प्रवासी आफ्नो करियर प्रति सन्तुष्ट छन्। ओमनमा रहेका प्रवासीमध्ये ५८ प्रतिशत आफ्नो पेशाप्रति पूर्ण रुपमा सन्तुष्ट छन्। जुन तथ्यांक विश्वमा भने ६८ प्रतिशत रहेको छ।

इन्साइडर रिपोर्टको प्रतिवेदनले ओमनमा धेरै सकारात्मक पक्षका बाबजुद केही नकारात्मक पक्ष पनि औंल्याइएको छ। यसैसन्दर्भमा ओमनमा रहेका २८ प्रतिशत आप्रवासीले आफ्नो सम्पूर्ण खर्च धान्न पर्याप्त नभएको बताए, जुन विश्वभरमा जम्मा २३ प्रतिशत रहेको छ। ओमनमा रहेका प्रवासी श्रमिकहरु मध्ये ५४ प्रतिशत आफ्नो आर्थिक अवस्थासँग सन्तुष्ट छन्। यो तथ्यांक विश्वभरको प्रवासीहरुको हकमा भने ६४५ रहेको बताइएको छ।

त्यस्तै, स्वास्थ्यसम्बन्धी इन्डेक्समा भने तलबाट क्रमशः १० औं स्थानमा रहेको पाइएको छ। ओमनमा सर्वेक्षण गरिएकामध्ये ४३ प्रतिशतले स्वास्थ्य सेवा पहुँच योग्य भएको बताए, जुन विश्वमा ६१ प्रतिशत छ।

त्यस्तै, प्रतिवेदन अनुसार ओमनमा निर्माण क्षेत्रमा काम गर्ने प्रवासीको प्रतिशत १४ रहेको छ। वित्तीय क्षेत्रमा १० प्रतिशत र त्यहाँको शैक्षिक क्षेत्रमा २० प्रतिशत प्रवासी संलग्न छन्।

(एजेन्सीको सहयोगमा)