वैदेशिक रोजगारीका लागि कुवेत विश्वकै सबैभन्दा खराब देश : जर्मन इन्टरनेसन्स नेटवर्क

वैदेशिक रोजगारीका लागि कुवेत विश्वकै सबैभन्दा खराब देश : जर्मन इन्टरनेसन्स नेटवर्क

कुवेत ।वैदेशिक रोजगारीका लागि कुवेत विश्वको सबैभन्दा खराब सूचीमा समावेश भएको छ।

जर्मन इन्टरनेसन्स नेटवर्कले आठ वर्षमा सातौं पटक कुवेतलाई आप्रवासीको लागि विश्वकै सबैभन्दा खराब देशको रुपमा चित्रण गरेको छ।

कुवेतमा कार्यरत वैदेशीक कामदारको जीवन गुणस्तरीय नभएको, फुर्सदमा अन्य विकल्प नहुने, व्यक्तिगत खुसी, यात्रा र गतिशीलता पनि नभएको भन्दै इन्टरनेसन्सले यो देशलाई अन्तिम स्थानमा राखेको हो।

इन्टरनेसन्स नेटवर्कले गरेको सर्वेक्षणको उक्त नतिजालाई भने कुवेती मानव अधिकार संगठन र मजदुर युनियनले ‘झुट’ को संज्ञा दिएका छन्।

कुवेतस्थित मानव अधिकार संघका अधिकारीले कुवेतको श्रम कानून त्यो क्षेत्रमा मात्र नभई विश्वकै उत्तम कानुन भएको दावी गरेका छन्। कुवेत आप्रवासीका लागि उत्कृष्ट नभए पनि सबैभन्दा खराब चाहिँ हुँदै नभएको उनीहरूकोे दावी छ।

कुवेत एसोसियसन अफ द बेसिक इभ्यालुएटर्स फर ह्युमन राइट्सका अध्यक्ष डा. युसेफ अल–सकारले भनेका छन्, ‘प्रतिवेदन द्वेषपूर्ण छ ।’ उनले अगाडी थपेका छन्, ‘हामीलाई थाहा छ, हामी सर्वश्रेष्ठ छैनौं तर, त्यसो भन्दै गर्दा हामी सबैभन्दा खराब पनि छैनौं।’

कुवेतले मानव बेचबिखनविरुद्ध अधिवेशनमा हस्ताक्षर गरिसकेको छ। र, यस सम्बन्धमा एकभन्दा बढी व्यक्तिलाई मुद्दा पनि चलाएको थियो। कुवेत राज्यको स्वास्थ्य बीमाको लागत तुलनात्मक रुपमा कम छ। यहाँ एकभन्दा बढी मानव अधिकार संघका साथसाथै श्रमका मुद्दामा विशेषज्ञता राखिएको संघ पनि छ। मानव अधिकारका लागि राष्ट्रिय कार्यालय पनि छ, जसमा मानव बेचबिखनविरुद्ध काम गर्ने विशेष समिति रहेको छ।

उनका अनुसार कुवेतमा लगाइने कर अन्य देशको तुलनामा कम छ। यदि कुवेत सबैभन्दा नराम्रो गन्तव्य हुन्थ्यो भने यति धेरै देशका नागरिक बस्ने थिएनन्। आपतकालीन चिकित्सा सेवालाई निःशुल्क प्रदान गरिन्छ। यसको अतिरिक्त भिसा तस्करलाई मुद्दा चलाउँदै छ। केही व्यक्तिलाई तलब दिन ढिलाइ भइरहेको भए पनि यस सन्दर्भमा तुरुन्तै समाधानतर्फ लान खोजिएको उनको दावी छ।

‘हामी आदर्श वा पूर्ण भएको दाबी गर्दैनौं। तर, कुवेतको अवस्था वर्णन गर्दा हामी निष्पक्षता र गैर–मनोमानी व्याख्याको अपेक्षा गर्दछौं,’ उनको दावी छ,‘हामी स्वीकार गर्दछौँ कि त्यहाँ केही गल्तीहरु छन्, जुन हामीले सुधार गर्न कोशिस गरिरहेका छौं।’

यसै सन्दर्भमा कुवेत सोसाइटी फर ह्युमन राइट्सका महासचिव हुसैन अल– ओताइवीले इन्टरनेसन्सको प्रतिवेदन अन्यायपूर्ण रहेको भन्दै आपत्ति जनाएका थिए। उनले भनेका छन्, ‘इन्टरनेसन्सको प्रतिवेदनमा कुवेतको वर्गीकरण अन्यायपूर्ण छ। किनकि कुवेतका आप्रवासी श्रमिकसँग हामी प्रत्यक्ष सम्पर्कमा छौं। केही कमजोरीको बाबजुद कुवेतलाई विश्वकै सबैभन्दा खराब मान्न मिल्दैन।’

उनले अन्य देशको तुलनामा कुवेतमा प्रदान गरिएका सेवा सबैभन्दा प्रभावकारी र कम खर्चिला भएको बताएका छन्। गैरसरकारी तहमा समेत विभिन्न संघ रहेको, जसले कुवेतमा श्रमिकलाई कोभिड–१९ महामारीको समयमा सहयोग प्रदान गरेको उनको दावी छ। ‘हामीले गर्ने सर्वेक्षणले संकेत गर्दछन् कि नकारात्मकता भन्दा बढी सकारात्मक कुरा छन्। दुब्र्यवहारको प्रतिशत अन्य देशको तुलनामा निकै कम छ।’

त्यसैगरी कुवेत युनियन अफ डोमेस्टिक लेवर रिक्रुटमेन्ट कार्यालयका प्रमुख खालिद अल–दखननले इन्टरनेसन्सको रिपोर्ट गलत भएको प्रतिक्रिया दिएका छन्। ‘इन्टरनेसन्सको रिपोर्ट गलत छ। कुवेतको श्रम कानून संसारको उत्तम कानुनमध्ये एक हो। यसले श्रमिकको सुरक्षाको ग्यारेन्टी दिन्छ,’ उनको दावी छ,‘राज्य श्रम अधिकार संरक्षण गर्नमा प्रतिबद्ध छ।’

सरकारी स्तरमा कुवेत १९६० को दशकको सुरुवातदेखि नै अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य छ। यसले अन्तर्राष्ट्रिय श्रम सम्झौताको अनुमोदनसमेत गरेको छ।

एजेन्सीको सहयोगमा