कोरोना महामारीमा नेपाल आमालाई सहयोग गर्न जुटेका कंगोमा बस्ने नेपाली

कोरोना महामारीमा नेपाल आमालाई सहयोग गर्न जुटेका कंगोमा बस्ने नेपाली

युद्धग्रस्त अफ्रिकी देश कंगोमा नेपालीहरूको उपस्थिति न्युन छ। डिआरसी कंगोमा विगत केही वर्ष यतादेखि नेपालीहरू बसोबास गर्न थालेका हुन्। पहिले यहाँ शान्ति मिशनमा नेपाल आर्मी तथा प्रहरीको टुकडी जाने गथ्र्यो। यो सिलसिला अहिले पनि रोकिएको छैन।

तर, नागरिकस्तरमा पनि नेपालीहरू बसोबास गर्छन। यहाँ सेना, पुलिस तथा सामान्य गरेर २ हजारको हाराहारीमा नेपालीहरू छन्। विगत ९ वर्षदेखि कंगोमा बसोबास गर्दै आएका अमित क्षेत्रीको अध्यक्षतामा डेढ वर्षअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन भएको थियो।

संघ गठन भएको केहि समयमै कोरोना महामारीले विश्वलाई नै अस्तव्यस्त बनायो। सानो रुपमा संगठित भएपनि एनआरएनए कंगोले नेपालमा देखिएको कोरोना महामारीको विकराल अवस्थामा पनि धेरै सहयोग गरेको छ। नेपालमा देखिएको अक्सिजनको अभावलाई केहि हदसम्म कम गर्न कंगोमा बसोबास गर्ने गैरआवासीय नेपालीले ठूलो योगदान गरेका छन्।

कोरोना महामारीकै विषयलाई लिएर प्रवास खबरका लागि बिनेश खनालले एनआरएनए कंगोका अध्यक्ष क्षेत्रीसँग कुराकानी गरेको थियो। यसको संक्षेप यहाँ प्रस्तुत गरिएको छः

तपाईँ अफ्रिकन मुलुक कंगोमा हुनुहुँदो रहेछ त्यहाँ कति नेपाली बसोबास गर्छन?

कंगो २ वटा छ। म बस्ने डिआरसी कंगो हो। यहाँ म बस्न लागेको अहिले ९ वर्ष पूरा भएर १० वर्ष लाग्यो। हालसम्म नागरिक तथा युनाइटेड नेशन (यूएन) को मिशनमा आउने सेना तथा प्रहरी गरेर करिब २ हजारको हाराहारीमा नेपाली छौं।

यहाँ कार्यरत फ्रेञ्च तथा भारतीय सेनामा खटिनेमा पनि नेपाली भाषी हुनुहुन्छ। नेपालबाटै प्रतिनिधित्व गर्नेमा २ हजारको हाराहारीमा छौं।

शान्ति मिशनमा खटिएका बाहेक कुन–कुन क्षेत्रमा नेपालीहरू हुनुहुन्छ ?

यूएन मिशन बाहेक धेरैजसो नेपाली व्यवसाय अनि रोजगारीमा आवद्ध छन्। यहाँ रोजगारीमा आउने साथीभाइ प्रायः उच्च ओहदामा बसेर काम गरिरहनु भएको छ। धेरै जसो नेपाली कुनै क्षेत्रमा मेनेजर, लेखा अधिकृत, एचआर, एडमिन सुपरभाइजर तथा त्योभन्दा माथिको पदमा छन्। कोही सामान्य कुक तथा सेफ लेभलको कुकमा छन्।

पछिल्लो समय यहाँ बसोबास गर्ने नेपालीमा व्यापार–व्यवसायतर्फ मोह बढ्दै गइरहेको छ। काम गर्न सहज र आकर्षक कमाइ हुने भएकाले पनि नेपालीहरू आफ्नै व्यवसायतर्फ आकर्षित भएका छन्।

नेपालीहरुले गर्ने व्यवसायमा होटल, रेष्टुरेण्ट,बार, क्लब, दोकान, डिर्पाटमेन्टल स्टोर तथा सुपरमार्केट हो। प्रायः यी क्षेत्रमै नेपालीले लगानी गरेका छन्।

तपाईँ एनआरएनए कंगोको अध्यक्ष समेत हुुनुहुन्छ। कहिलेबाट एनआरएनए गठन भएको हो?

यहाँ विगत लामो समयदेखि नेपालीहरू बसोबास गर्दै आइरहेका थियौँ। एनआरएनए गठन नभए पनि नेपालीहरू भेटघाट हुने दुःख साट्ने काम त भइनै रहेको थियो। एनआरएनए गठन भएको डेढ वर्ष मात्र भएको छ। पहिलो अध्यक्ष म आफै हो।

एनआरएनए गठन हुनुभन्दा पहिला नेपाली समाज भन्ने थियो। यही समाजबाट गतिविधि सञ्चालन गरेका थियौं। लगभग २ सय जति नेपाली यही समाजमा आवद्ध थियौँ।

पछिल्लो समय यहाँबाट केहि साथी युरोप, अमेरिका जानुभयो। कोहि नेपाल फर्किनु भएपछि संस्था निस्क्रिय जस्तै भयो। पछि यहाँ बाँकी रहेका साथीभाइले दुःखसुख बाँड्न धेरै सजिलो हुन्छ, नेपालमा पनि सहयोग गर्न सकियोस् भनेर एउटा ग्लोबल सञ्जाल भएको संस्था एनआरएनए गठन गरेका हौँ।

कति जनाको समिति बनाउनु भएको छ ?

अहिलेसम्म सदस्यता लिनेको संख्या १ सय ३० छ । सदस्यता लिने काम अहिले पनि जारी छ। यो संख्या बढ्नेछ।

संसारभर कोरोना भाइरसको दोस्रो लहर चलिसकेको अवस्था छ। त्यहाँको स्थिति कस्तो छ? अघिल्लो वर्ष कस्तो थियो?

गत वर्षको कुरा गर्दा यहाँ कोभिड–१९ का प्रशस्त बिरामी भेटिएका थिए। यहाँ रहेका नेपालीमा पनि कोभिड–१९को असर पर्याे। केहि साथी संक्रमित हुनुभयो।

एनआरएनए कंगोका साथीहरू मिलेर गत वर्षको कोरोना महामारीमा धैरै काम गर्न सफल भएका थियौँ। हामीले पूर्व तयारी व्यापक रुपमा गरेका थियौँ।

केहि नेपालीमा समस्या प¥यो। तर, संख्या धैरै ठूलो थिएन। यहाँ सबै जना राम्रै पोजीसनमा काम गर्ने भएर होला, धेरै जनाको कम्पनीले राम्रो व्यवस्थापन गर्याे। समस्यामा परेका केहिलाई एनआरएनएले पनि सहयोग गरेको थियो। अन्य देशमा जस्तो यहाँ रहेका नेपालीले समस्या झेल्नु परेन।

कोही पनि नेपालीलाई दुःख नपरोस् भन्ने हाम्रो लक्ष्य थियो। हामीले नेपाली होटलमा नै आइसोलेशनमा राख्ने व्यवस्था मिलाएका थियौँ। जागिर गुमाएकालाई पनि होटलमा खान÷बस्नको व्यवस्था गरिएको थियो। डाक्टरसँग समन्वय गरेर टिम बनाएका थियौँ।

संयोगवस भनौं, हामीलाई पहिलो फेजमा त्यति ठूलो समस्या परेन। दोस्रो फेज पनि अहिले यहाँ केहि मात्रामा देखिएको छ। भयावह अवस्था छैन। एक सयभन्दा बढीमा नयाँ भेरियण्ट पुष्टि भएको छ। अहिले यहाँ रहेका नेपाली सबै सुरक्षित नै छौँ। दोस्रो लहरसँग जुध्न पनि हामीले तयारी थालिसकेका छौँ।

यहाँको सरकारले दोस्रो लहरबाट बच्न नाइटमा पूर्ण क्फ्यूू लगाएको छ। अन्य देशबाट आउने यात्रुलाई कडा नियम जारी गरिएको छ। विमानस्थलमै पीसीआर परीक्षण गर्ने गरिन्छ। रिपोर्ट आएपछि मात्र आइसोलेशनबाट बाहिर निस्किन पाइन्छ । सरकारको कडाइले पनि कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ। अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन।

नेपालमा कोरोनाको भयावह स्थिति छ। स्वास्थ्य सामग्रीको चरम अभाव छ। अक्सिजन अभावमा धेरैले ज्यान गुमाएका छन्। यो अवस्थामा कंगोबाट के सहयोग गर्नुभएको छ?

नेपालको स्थिति बिग्रदै गएपछि देशमा आफन्त बचाउन केही गर्नुपर्छ भनेर एनआरएनए अफ्रिका क्षेत्रीय समितिको तत्काल बैठक बस्यो। जसका लागि संघका पूर्वकेन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले पहल थाल्नु भएको थियो भने नेतृत्व क्षेत्रीय संयोजक रोशन थापाले गर्नुभयो।

त्यो बैठकले सानो भए पनि अफ्रिकाबाट राहत पुर्याउनु पर्छ भनेर एउटा राहत समिति बनाएको थियो । तराइ र मध्य पहाडका केही जिल्लामा स्वास्थ्य सामग्री पुर्र्याउने सहमति गरियो, जहाँ अति प्रभाव देखिएको छ। त्यसमा हामी अफ्रिकाका सबै एनसीसीले सहमति जनायौँ।

पहिलो लटमा अति प्रभावित १० जिल्लामा अक्सिजन पुर्याउने हाम्रो निर्णय थियो। जसमा एनसीसी कंगोको तर्फबाट ५ वटा जिल्लाको संयोजन गर्ने मौका मैले पाएँ। त्यसमा सहयोग गर्न अफ्रिकाका अन्य एनसीसी मोजाम्बिक, घाना, आइभरी कोस्टले सघाउने भयो।

त्यसमध्ये नवलपरासीको नवलपुरमा रहेको सामुदायिक अस्पताललाई सवा दुई लाख बराबरको अक्सिजन सिलिण्डर उपलब्ध गराइसकिएको छ। हामीले गरेको सानो सहयोगले त्यहाँ २ सय बेडसहितको कोभिड अस्पताल सञ्चालनमा छ। पछि अन्य विकसित देशमा रहेका नेपालीले पनि सहयोग गर्नुभयो।

त्यस्तै बुटवल लाइन्स क्लब र लियो क्लब रामग्रामसँगको सहकार्यमा नवलपरासीको परासीमा १ सय ३० अक्सिजन हस्तान्तरण गरेका छौँ। नवलपरासीमै वर्दघाट लगायतका क्षेत्रमा थप ७० थान अक्सिजन हामीले आज–भोलिमै उपलब्ध गराउँदैछौँ।

त्यस्तै पाल्पा जिल्ला अस्पतालमा पनि बुटवल लायन्स क्लब र पाल्पा लायन्स क्लबको सहकार्यमा एक सय थान अक्सिजन तत्काल दिने तयारी छ। स्याङ्जामा पनि एक सय थान अक्सिजन दिन लागेका छौं।

गुल्मीमा भने सिलिण्डरसहित अक्सिजन पुर्याउन लागेका छौँ। यो कार्य पनि अन्तिम चरणमा छ। यी सबैको लागि खर्चको हिसाबले लागत ६ देखि ८ लाखसम्म आउने देखिएको छ। त्यसमा स्थानीय लेभलमा पनि केहि सहयोग भएको छ।

आफू जस्तै विदेशमा रहेका नेपालीलाई के भन्न चाहनुहुन्छ?

आफ्नो गाउँ, आफ्नो मातृभूमिमा सकेको सहयोग गरौँ। यसमा आत्मसन्तुष्टी पनि मिल्छ। आफै संयोजन गरेर भएपनि सहयोगको लागि जुटौँ।