भाइरल पाकिस्तानी चियावालाले लण्डनमा क्याफे खोल्दै

भाइरल पाकिस्तानी चियावालाले लण्डनमा क्याफे खोल्दै

इस्लामाबाद। पाकिस्तानका २३ वर्षीय एक चियावाला, जसको चिया बनाउँदै गरेको फोटो सोसल मिडियामा भाइरल भएको थियो। निलो आँखा भएका उनी यसपछि विश्वव्यापी आकर्षण बनेका थिए।

यिनै पाकिस्तानी चियावालाले बेलायतको महंगो शहर लण्डनमा चिया पसल खोल्ने भएका छन्। अहिले विश्व कोरोना महामारीका कारण त्रस्त छ। तर, यतिबेला उनले लण्डन जस्तो शहरमा चिया पसल खोल्ने हिम्मत गरेर ‘हौसला हुने मानिसलाई कसैले रोक्न सक्दैन’ भन्ने प्रमाणित गर्न खोजेका छन्।

अर्सद खान नाम गरेका यी चियावालाले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन्, ‘शक्ति र वृद्धि लगातारको परिश्रमपछि मात्र प्राप्त हुन्छ। ‘क्याफे चायवाला’ अल्लाहको निगाहले यही वर्षको अन्त्यमा लण्डनमा पहिलो क्याफे आउटलेट खोल्दैछ।’

केही वर्षअघि सामान्य रुपमा चिया बेच्दै आएका अर्सदले पाकिस्तानको राजधानी इस्लामाबादमा हालै रुफटफ क्याफे ‘क्याफे चायवाला’ खोलेका थिए। उनी आफूले राखेको क्याफेको नाम परिवर्तन गर्न धेरै ठाउँबाट सुझाव आएको बताउँछन्।

‘दि एक्सप्रेस ट्रिब्युन’ लाई अन्तर्वार्ता दिनेक्रममा उनले भनेका छन्–‘धेरैले मलाई क्याफेको नाम परिवर्तन गरेर आफ्नै नाम अर्सद खानको नाम राख्न सुझाएका थिए। तर मैले अस्विकार गरे। किनभने मेरो परिचय नै ‘चायवाला’ हो।’

अर्सदको क्याफेमा पुराना तथा संस्कृति झल्किनेदेखि ट्रकआर्टसम्म, भित्ता, कुर्सी र टेबलमा छापिएको छ। उनके क्याफेमा चियाबाहेक १५ देखि २० वटा खानाको मेनु पनि छ।