बजार–व्यवसाय खोल्दै यूएई, केटाकेटीलाई पनि खोप लगाउने कार्य सुरु

बजार–व्यवसाय खोल्दै यूएई, केटाकेटीलाई पनि खोप लगाउने कार्य सुरु

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) मा १२–१५ वर्ष उमेर समूहका केटाकेटीलाई कोरोना खोप लगाउने अभियान सुरु भएको छ। यी केटाकेटीलाई फाइजर–बायोन्टेकको खोप लगाउने कार्यको सुरुवात भएको हो।

एपको सहयोगले यूएईमा मानिसहरू खोप लगाउने ठाउँ बुक गरिरहेका छन्। एक महिना लामो टेस्टिङको कार्य पूरा भएपछि सरकारले बजार, कार्यक्रम गर्ने स्थान, बिहे तथा खेल आयोजनालाई केही खुकुलो बनाएको छ। तर, यसमा केहि सर्त राखिएको छ।

यूएई ‘अनलक’ भएपछि संकट तथा विपत्त व्यवस्थापन समितिका प्रमुखले कुनै गतिविधि तथा कार्यक्रममा भाग लिने मानिसले कोरोनाको दुवै खोप लगाएको हुनुपर्ने बताएका छन्। यस्तै, कार्यक्रममा मास्क अनिवार्य गरिएको छ भने दुई मिटरको न्युनतम सामाजिक दुरी कायम गर्नुपर्ने छ।

यूएई सरकारको केटाकेटीलाई खोप लगाउने कार्यको स्कुल, शिक्षक, चिकित्सक तथा आम नागरिकले तारिफ गरेका छन्। यूएईको हालको जनसंख्या १ करोडको हाराहारीमा छ। यूएईमा हाल १ करोड १० लाख खोप वितरण भइसकेको छ। यही वर्षको अन्त्यमा सबैलाई खोप लगाउने कार्य सम्पन्न भइसक्ने छ। हालसम्म ४ करोड ७५ लाख कोरोना टेस्ट भएको छ।

हाल यूईमा घरेलु समारोहमा सय जना जम्मा हुन सक्छन्। यसको छानवीन गर्ने कार्य प्रहरीले एपद्धारा गरिरहेको छ। यस्तै, इन्डोर इभेन्टका लागि १५ सय तथा आउटडोरमा २५ सय मानिसलाई अनुमति दिइएको छ।

कोरोनाविरूद्ध गठन भएको सुप्रिम कमिटीले एक महिनाको रिजल्ट हेरेर अर्को निर्णय गर्ने बताएको छ ।

एजेन्सी