जागौ नेपाल प्रवास शाखाले खडा गर्‍यो आपतकालीन कोष

जागौ नेपाल प्रवास शाखाले खडा गर्‍यो आपतकालीन कोष

काठमाडौं । जागौ नेपाल प्रवास शाखाले मानवीय सेवा सहयोग अभियान अन्तर्गत ‘आफू बाचौं अरुलाई पनि बचाऔं’ भन्ने उद्देश्यका साथ आपतकालीन कोष खडा गरेको छ । नेपालमा कोरोना भाइरसको महामारीका कारण कोरोना सङ्क्रमितहरुले अक्सिजन अभावका कारण कयौंले ज्यान गुमाउन बाध्य भएको भन्दै जागौ नेपाल प्रवास शाखाले आपतकालीन कोष खडा गरेको बताएको छ ।

यस्तो गम्भीर परिस्थितिमा राज्यको मात्रै भर नपरेर नेपाली नागरिकको हैसियतले पनि सङ्क्रमितहरुको जीवन बचाउनका लागि जागौं नेपाल राष्ट्रिय प्रवास समितीले यो कदम चालेको प्रवास बिभाग संयोजक सन्तोष तिमिल्सिनाको भनाइ छ ।उक्त कोषमा जम्मा भएको रकमबाट अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरि संक्रमित नेपालीहरुलाई सहयोग गर्नेसमेत संयोजक तिमिल्सिनाले बताए ।

विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आफ्नो क्षमताले भ्याएको सहयोग गरि कोरोना भाइरस संक्रमितहरुको जीवन रक्षाका लागि आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न पनि प्रवास विभाग महासचिव सरस्वती खनालले अनुरोध गरेकी छन् ।

जागौं नेपाल राष्ट्रिय अभियान स्थापना भएको छोटो समयमा नेपाली जनता माझ लोकप्रिय बन्दै गइरहेको छ। हालसम्म नेपालमा मात्र नभएर विश्वका १७ वटा भन्दा बढी राष्ट्रमा जागौं नेपाल प्रवास समिती गठन भएर सक्रिय रूपमा कार्य गरिरहेका छन् ।