कोरोना संकटमा सहयोगको अपेक्षा राख्दै एनआरएनए पदाधिकारी दक्षिण कोरियाको संसद भवन पुगे

कोरोना संकटमा सहयोगको अपेक्षा राख्दै एनआरएनए पदाधिकारी दक्षिण कोरियाको संसद भवन पुगे

साैल । नेपालमा फैलिएको कोरोना भाइरसको भयावह स्थिति नियन्त्रणका लागि सहयोगको अपेक्षा राख्दै गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाले यहाँको कोरियाली सरकारलाई ध्यानाकर्षण गराएको छ।

एनआरएनए दक्षिण कोरियाको एक टोलीले शुक्रबार यहाँको संसद भवन पुगेर महामारी नियन्त्रणमा सहयोग गरिदिन कोरियाली संसदको एक टिमसमक्ष आग्रह गरेको हो।

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपाल–दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युनसँग भेट गरि नेपाललाई तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

‘नेपालमा परेको विपद्मा कोरियाली सरकारको तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह गर्दै हामी संसद भवन प्ुगेका थियौँ,’ सुवेदीले प्रवास खबरसँग भने, ‘नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्रीको सूची त्यहाँ दिएका छौँ।’ संघले कोरियाली संसदलाई नेपालको पछिल्लो अवस्था बारे जानकारी गराएको पनि सुवेदीले बताए।

दक्षिण कोरियाली संसदमा प्रत्येक देशलाई र्हेने अलग–अलग समिति हुन्छ। दुई देशबीच सुमधुर सम्बन्ध स्थापनाको लागि यसरी समिति बनाइएको हुन्छ । जुन समितिको उद्धेश्य वर्षमा एकपटक एक–अर्काे देशको भ्रमण गर्ने पनि हो।

भेटमा सभापति ह्युन नेपाललाई सहयोग गर्ने कुरामा निकै सकरात्मक देखिएको सुवेदीले बताए। सभापति ह्युनले तुरुन्तै नेपाललाई सहयोग गर्दै आएको संस्था कोइकाका प्रतिनिधिलाई बोलाएको र संघ र कोइकाको योजना विभागका प्रतिनिधिबीच छलफल गराएको जानकारी दिए।

छलफलपछि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तत्काल आपूर्ति गर्न सरकारसमक्ष पहल गर्ने ह्युनले प्रतिवद्धता जनाएका थिए।

उक्त भेटघाट कार्यक्रममा संघका अध्यक्ष सुवेदीसहित प्रमुख संरक्षक रुद्र शर्मा, संरक्षक बिनोद कुवँर तथा वरिष्ठ उपाध्यक्ष दीपक पुन पनि संलग्न थिए।