‘सहयोग सानोतिनो हुँदैन, आपतको बेला सबैले आफन्त सम्झेर सहयोग गरौं’

‘सहयोग सानोतिनो हुँदैन, आपतको बेला सबैले आफन्त सम्झेर सहयोग गरौं’

काठमाडौं।अफ्रिकी देश मोजाम्बिकमा २५ जना मात्र नेपाली बसोबास गर्छन। तर, यहाँ बसोबास गर्ने नेपालीहरूले कोरोना महामारीको अहिलेको अवस्थामा २ लाख ५ हजार रुपैयाँ बराबरको रकम उठाएर १० वटा अक्सिजन सिलिण्डर नेपाल पठाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रायः मध्यपूर्व र युरोप शाखाको सहयोगको मात्र समाचार आउने नेपाली मिडियाका लागि यो आफैमा अनौठो समाचार हो।

तर, प्रवास खबरले एनआरएनए मोजाम्बिककी अध्यक्ष देवी पौडेलसँग हालै अन्तर्वार्ता गरेको थियो। प्रवास खबरका लागि बिनेश खनालले गरेको अन्तर्वार्ता यस प्रकार रहेको छ।

तपाई अफिक्री मुलुक मोजाम्बिकमा हुनुहुँदो रहेछ। त्यहाँ पनि गैरआवासीय नेपाली संघको शाखा रहेछ। कति जति नेपाली हुनुहुन्छ?

हामी यहाँ २५ जना नेपाली छौँ, अहिले। यहाँ एनआरएनएको एनसीसी छ। धेरै भयो गठन भएको पनि। म आफै अध्यक्ष भएको चार वर्ष भइसकेको छ। यो मेरो तेस्रो कार्यकाल हो। मोजाम्बिक नेपाल जस्तै देश हो। हामी २५ जना नै विभिन्न ठाउँमा छरिएर रहेका छौँ। म र मेरो परिवार यहाँको राजधानी मापुतोमा बस्छौँ। मबाहेक अरु २ जना पनि परिवारसहित यहाँ हुनुहुन्छ। ५ जना जति नाकाला भन्ने एउटा पोर्ट छ, त्यहाँ हुनुहुन्छ। अर्काे एउटा पेम्बा भन्ने शहर छ, त्यहाँ ‘हस्पिटालिटी’ क्षेत्रमा ६ जना जति हुनुहुन्छ। नाम्बुला र बेरा भन्ने अरु प्रदेशमा पनि दुई–तीन जना भाईहरू हुनुहुन्छ।

२५ जना मात्रै छौँ भन्नुहुन्छ । त्यसभन्दा बढी नेपाली हुनुहुन्छ होला?

यहाँ कोहि नेपालबाट नयाँ आउनु भयो भने हामीलाई जानकारी हुन्छ। थोरै नेपाली भएको हुँदा हामीलाई थाहा हुन्छ। कोहि यहाँबाट छोडेर जानु भयो भने पनि हामीलाई थाहा हुन्छ। सबै जनाले मलाई जानकारी गराउनु हुन्छ। अहिलेलाई हामी २५ जना मात्रै छौँ।

कुन–कुन क्षेत्रमा कार्यरत हुनुहुन्छ नि?

मापुतोमा भएको प्रोडक्सन कम्पनीमा दाई काम गर्नहुन्छ। पास्ता कम्पनीमा डाइरेक्टर पदमा कार्यरत हुनुहुन्छ। नाकाला पोर्टमा हुनेहरू प्लास्टिकको बोरा बनाउने फ्याक्ट्रीमा कार्यरत हुनुहुन्छ। अरु ठाउँमा हुनुभएका ‘हस्पिटालिटी’ क्षेत्रमा काम गर्नुहुन्छ। केही सुरक्षा गार्ड पनि हुनुहुन्छ।

अफ्रिकामा एनआरएनएको चहलपहल खासै छैन भनिन्छ। संख्या थोरै भएर हो कि? तर, नेपालमा भइपरि आउने संकट तथा विपद्मा अफ्रिकामा बसोबास गर्ने नेपालीले सहयोगी हात बढाइरहेका हुन्छन् नी !

हो, हजुरले भने जस्तै अफ्रिकामा हामी थोरै संख्यामा छौँ। तर, यहाँ हामी एकजुट भएर बसेका छौं। नेपालमा विपद् पर्दा जहिले पनि एकजुट भएर सहयोग गरिरहेका हुन्छौँ। नेपालमा मात्र नभएर यहाँ पनि केही आपतविपत परिरहेको बेला सहयोग गरिरहेका हुन्छौँ। असहज परिस्थितिमा हामी जहिले पनि एक भएर काम गछौँ।

अहिले देशमा फैलिएको कोभिड–१९ महामारीमा सहयोग अभियान चलाउनु भएको छ। तपाईले नेतृत्व गरेको एनसीसीले पनि अस्तिमात्र नवलपरासीको रहजरमा स्वास्थ सामग्री उपलब्ध गरायो। के–कति सहयोग गर्नु भयो?

कोभिड–१९ को सन्दर्भमा भन्नुपर्दा हामीले अघिल्लो वर्षदेखि नै विभिन्न किसिमको सहयोग गरिरहेका छौं। मेडिकल टिम पनि बनाएर सहयोग गरेका थियौँ। अहिले हामीले नेपालमा महामारी सुरु हुनेवित्तिकै ‘ल अब देशको लागि केही गर्नुपर्छ भनेर’ योजना बनायौँ। थोरै भए पनि गर्नुपर्र्छ भन्ने हाम्रो उद्धेश्य थियो। अफ्ठ्यारो भएको बेलामा हामी पनि साथमा छौँ है भन्ने प्रयास थियो। हामीले दिएका ८/१० वटा अक्सिजन सिलिण्डरले भंयकर सहयोग पुग्यो भन्ने होइन। सक्दो प्रयास गरेका हौँ।

अफ्रिकामा रहेका सबै एनसीसीको बैठक बसेर नेपालका विभिन्न जिल्लामा तत्कालै सहयोग गर्ने निणर्य भयो। सोही अनुरुप एनसीसी मोजाम्बिकले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले दुई लाख ५ हजारको लागतमा १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो।

सबैको सहयोगमा यो सम्भव भएकोे हो। यसमा सबैलाई धन्यावाद दिन चाहन्छु।

थौरै नेपाली भएको एउटा सानो अफ्रिकी मुलुकमा रहेर पनि मातृभूमिलाई संकट पर्दा सहयोग गरिरहनु भएको छ। देश–विदेशमा रहेका नेपालीलाई के भन्न चाहनु हुन्छ?

सहयोग सानो ठूलो हुँदैन। आफ्नो ठाउँबाट सक्ने जति सहयोग हामीले गर्नु पर्दछ। विदेशमा भएकाले नेपालमा आफनो परिवार र आफन्तलाई हेरेर भए पनि सहयोग गर्नुपर्ने अवस्था छ। त्यसैले सहयोगका लागि हात अगाडी बढाउन अनुरोध गर्दछु। नेपालमा रहेका सबै जना सुरक्षित रहनुहोला। बिना काम घरबाहिर ननिस्कनुहोला भन्न चाहन्छु।

यो पनि पढ्नुहोस्

२५ नेपाली बसोबास गर्ने मोजाम्बिक एनआरएनएको ठूलो मन