२५ नेपाली बसोबास गर्ने मोजाम्बिक एनआरएनएको ठूलो मन

२५ नेपाली बसोबास गर्ने मोजाम्बिक एनआरएनएको ठूलो मन

काठमाडाैं । कोरोना महामारीको विपद्मा विदेशमा बसेका गैरआवासीय नेपालीले सहयोग गरेको समाचार यतिबेला हरेक दिन नेपाली सञ्चारमाध्यममा सुन्न र हेर्न पाइन्छ।

यसमा अग्रपंक्तिमा मध्यपूर्वमा बसोबास गर्ने लाखौं गैरआवासीय नेपाली रहेका छन्। अन्य देशमा बसोबास गर्ने हजारौं नेपालीले पनि अक्सिनजन सिलिण्डर तथा कन्सन्ट्रेटरका लागि पहल गरेको समाचार आइनै रहेको छ।

तर, के तपाईहरूले अफ्रिकामा बसोबास गर्दै आइरहेका गैरआवासीय नेपालीले आफ्नो देशलाई विपद् पर्दा सहयोग गरेको समाचार सुन्नु भएको छ? यदी सुन्नु भएको छैन भने तपाईहरूलाई अचम्म लाग्न सक्छ– अफ्रिकाका सानो देश मोजाम्बिकमा बसोबास गर्ने गैरआवासीय नेपालीले कोरोनाकालमा विगत एक वर्षदेखि आफ्नो देशमा सहयोग पठाइरहेका छन्। तर, उनीहरूको समाचार कहिल्यै बनेको छैन।

प्रवास खबरले हालै मोजाम्बिकमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष देवी पौडेलसँग कुराकानी गरेको थियो। कुराकानीकै क्रममा थाहा भयो, भूगोलको हिसाबले नेपाल जत्रो देश मानिने मोजाम्बिकमा केही समयदेखि कार्यरत नेपालीहरूले कोरोना महामारीको विपद्मा आफ्नो देशलाई खुलेर सहयोग गरेका छन्।

हाल मोजाम्बिकमा २५ जना नेपाली मात्र कार्यरत छन्। संख्याको हिसाबले सानो भएपनि उनीहरूको देशप्रतिको माया र निष्ठा कम देखिदैन्। हालै मात्र उनीहरूले नवलपरासीको बर्दघाट–सुस्तास्थित रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा २ लाख ५ हजार रुपैयाँ उठाएर १० थान अक्सिजन सिलिण्डर पठाएका छन्।

यसले केही मात्रामा भएपनि राहत दिने अध्यक्ष पौडेलको भनाइ छ। पौडेल एनसीसीको अध्यक्षको तेस्रो कार्यकाल बिताउँदै छिन्। उनी परिवारसहित राजधानी मापुतोमा बस्छिन्। मापुतोमा अन्य दुई जनाको परिवार पनि बसोबास गर्छ।

यसबाहेक पोर्ट सिटी नाकालामा ५ नेपाली बसोबास गर्छन। पेम्बा भन्ने अर्को सिटीमा हस्पिटालिटी क्षेत्रमा ६ नेपाली कार्यरत छन्। नाम्बुला र बेरा भन्ने अर्को प्रदेशमा पनि तीन नेपाली दाजुभाई बसोबास गर्छन।

एनआरएनए मोजाम्बिकद्वारा प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिँदै

मोजाम्बिकमा नेपालीहरूको बसोबास न्युन रहेपनि उनीहरूको मुटु देशसँग जोडिएको छ। ‘हामी यहाँ एकजुट भएर बसेका छौं,’ अध्यक्ष पौडेल प्रवास खबरको जिज्ञासामा भन्छिन्–‘हामी देशहितमा हुने कुनै पनि कार्यमा चुकेका छैनौं र चुक्दैनौं पनि।’

उनले नेपालमा कोरोना फैलिएको खबर सुन्नासाथ आफूहरू बसेर अब देशका लागि केही गर्ने समय आएको भन्दै छिट्टै निर्णयमा पुगेको बताइन्। ‘हाम्रो थोरै प्रयास पनि देशका लागि काम लाग्छ भने किन नगर्ने भनेर गरेको हो,’ उनले भनिन्, ‘हामी जस्तो सानो जनसंख्या भएको अन्य देशका साथीभाईलाई पनि म आग्रह गर्न चाहन्छु–सहयोग ठूलो सानो हुँदैन।’