नेपालको कोरोना संकटमा सहयोगी हात, हङकङका नेपालीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा

नेपालको कोरोना संकटमा सहयोगी हात, हङकङका नेपालीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा एनआरएनए हङकङले आयोजना गरेको पत्रकार सम्मेलन

हङकङ। आकाशमा उड्ने चरी जति नै माथि उडे पनि उसलाई तल जमिनमा रहेको आफ्नो गुण नै प्यारो लाग्छ। लामो समयदेखि हङकङमा बस्दै आएका नेपालीको सन्दर्भमा पनि अहिले यो भनाइ ठ्याक्कै मेल खान पुगेको छ।

नेपालमा कोरोना महामारीले गम्भिर रुप धारण गरेपछि हङकङमा बसोबास गर्दै आइरहेका नेपाली समुदायलाई यतिबेला चिन्तित बनाएको छ। यसै सन्दर्भमा हङकङ समाजले दुःखको घडीमा तत्काल सहयोगी हात फैलाएको छ। यो पीडामा गैरआवासीय नेपाली संघ हङकङ पनि उत्तिकै सक्रिय बनेको छ।

केही दिनअघि गैरआवासीय नेपाली संघ हङकङले पत्रकार सम्मेलनको आयोजना गर्दै अक्सिजन कन्सन्ट्रेटर नेपालमा पठाउन पहलकदमी गरेको थियो। संघकी अध्यक्ष राधिका गुरुङले प्रति कन्सन्ट्रेटर हङकङ डलर ६५ सय पर्ने बताउँदै सय वटा कन्सन्ट्रेटर नेपाल पठाउने लक्ष्य लिएको बताएकी थिइन।

पत्रकार सम्मेलनमा गुरुङले नेपालमा महामारीले भयावह रुप लिएको र नेपाल सरकारले आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेको भए पनि पर्याप्त चिकित्सा सुविधा नभएकोले यसलाई नियन्त्रण गर्न साह्रै गाह्रो परेको बताएकी थिइन।

केही समयअघि नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बसोबास गरिरहेका नेपालीलाई देशभित्र कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्न आग्रह गरेका थिए। अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा भनेकी थिइन, ‘हामी तत्काल मद्दतको लागि नेपालका वाणिज्य दूतावासमार्फत हङकङ सरकारसँग प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गरिरहेका छौं।’

यस्तै, २००६ देखि हङकङमा बस्दै आएका ४२ वर्षीय सुरज गुरुङले पनि देशभित्र फैलिएको महामारीले आफूहरुलाई चिन्तित बनाएको बताएका थिए। ‘हामी हङकङमा बसोबास गर्ने नेपालीको परिवार र आफन्त नेपालमा छन्, जो महामारीबाट पीडित भएका छन्। त्यसैले हामी भावनात्मक र मानसिक रुपमा क्षतविक्षत भएका छौं,’ उनले भावुक हुँदै भनेका थिए। नेपाली समुदाय र हङकङ समाज दुबैबाट तत्काल सक्रिय पहलकदमी थालिएको पनि उनले बताएका थिए।

नेपाली मात्र होइन, नेपालसँग भावनात्मक रुपमा जोडिएका विदेशी पनि सहयोगका लागि अगाडी उभिएका छन्। यसैक्रममा ब्रिटिस सेनाका एक पूर्व अधिकारी तथा व्यवसायी नाइजेल कोलेट भन्छन्, ’महामारीको स्थिति बिग्रँदै गएपछि व्यापक संक्रमण र ठूलो संख्यामा मर्नेको अवस्थाका कारण नेपाललाई सहयोगको खाँचो छ।’

कोलेट गोरखा ईन्टरनेशनल हङकङ लिमिटेडका निर्देशक हुन्। गोरखा इन्टरनेशनल हङकङ लिमिटेडले अन्तर्राष्ट्रिय समुद्री उद्योगमा नेपालीका लागि रोजगारी खोज्ने काम गर्दै आएको छ। ’हामीले तत्काल नेपाललाई भाइरससँग लड्न सहयोग गर्नुपर्छ, महामारीले त्यो सानो देशलाई भयावह पार्यो,’ नेपाली सेनाले भारतीय सिमानामा नदीको किनारामा शव गाड्दै गरेको भन्ने समाचारलाई उदृत गर्दै उनले सो कुरा बताएका हुन्।

कोलेट ’अ डेथ इन हङकङ’ का लेखक पनि हुन्। झण्डै तीस वर्षदेखि हङकङमा बस्दै आएका कोलेटले पहिले नै आर्थिक अवस्था कमजोर भएको देशमा महामारीले झन् विनाश गर्ने चिन्तासमेत व्यक्त गरे।

हङकङमा करिब ३० हजार नेपाली बस्दछन्। जसका परिवार तथा साथीहरु नेपालमा छन्। ’हङकङका धेरै मानिस नेपालसँग जोडिएका छन्। त्यसकारणले यो एउटा मानवीय मुद्दा मात्र होइन, स्वतस्फूर्त जागृत स्वार्थ पनि हो,’ कोलेट भन्छन्, ’नेपाललाई नगद चन्दाबाहेक चिकित्सा सहयोग, आपूर्ति र खोपहरु पनि चाहिन्छ।’चाइना डेली

हङकङका नेपालीको मनकारी भावना, मातृभूमिलाई सय थान अक्सिजन कन्सन्ट्रेटर