एनआरएनए युगान्डाबाट सिमरामा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

एनआरएनए युगान्डाबाट सिमरामा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

बारा। गैरआवासीय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बुधबार बारा जिल्लामा अक्सिजन सिलिण्डर तथा अन्य स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर प्रमुख डा. कृष्ण पौडेललाई ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय समाजसेवी अनिल तिवारीले अफ्रिकाका एनआरएनएको तर्फबाट उक्त सामाग्री उपमहानगर पालिकाकालाई हस्तान्तरण गरेका हुन् ।

यसै गरि संघले उक्त आइसोलेशन र उपचार केन्द्रलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराइड २५ लिटर, सेनिटाइजर ५० लिटर, सर्जीकल ग्लोभ्स २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सर्जीकल मास्क ३ हजार थान र सिटामोल एकसय पत्ता स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । त्यसैगरी संघले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई स्थानीय विपन्न नागरिकलाई वितरण गर्न २० थान अक्सिमिटर हस्तान्तरण गरेको छ ।

अफ्रिकाबाट दुई नम्बर प्रदेशका लागि सहायताको संयोजन गरिरहनु भएका एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले थप ७२ वटा अक्सिजिन सिलिन्डर केही दिनमा नै हस्तान्तरण गरी कुल १ सय ५० सिलिन्डर उक्त उपमहानगर पालिकालाई सहयोग गरिने बताएका छन् ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले हालसम्म यस अभियानबाट अक्सिजन सिलिन्डर सहयोग टीकापुर, परासी, रजहर, सिमरा र रत्ननगरका अस्पताललाई सहयोग हस्तान्तरण गरिसकेका छन् । भने अब अछाम, कैलाली, कर्णाली प्रदेशको जुम्ला, इलाम, ताप्लेजुङ, गुल्मी, पाल्पा र स्याङ्जाका लागि सहयोग गर्ने तयारीमा रहेको जानकारी दिए ।