भारत–साउदीको कुटनैतिक पहलपछि १५ सय भारतीय श्रमिकलाई उडान अनुमति

भारत–साउदीको कुटनैतिक पहलपछि १५ सय भारतीय श्रमिकलाई उडान अनुमति

काठमाडौं। नेपाललाई ट्रान्जिट बनाएर साउदी अरब जाने क्रममा काठमाडौंमा रोकिएका १५ सय भारतीय श्रमिकलाई चार्टर उडानको अनुमती दिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

प्रवास खबरसँग प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कुराकानी गर्दै भारत र साउदी सरकारको कुटनैतिक पहलमा नेपाल सरकारले अड्किएका भारतीय श्रमिकलाई उडान अनुमति दिएको बताए।

‘भारत सरकारको अनुरोधमा नेपालमा अड्किएका श्रमिकलाई लैजान साउदी अरेबिया सहमत भएपछि हामीसँग आग्रह गरिएको थियो,’ प्राधिकरणका महानिर्देशक पोखरेल भन्छन्, ‘यही अनुरुप हामीले नेपालमा रोकिएका १५ सय श्रमिकका लागि चार्टर उडानको व्यवस्था मात्र गरिदिएका हौं।’

भारतमा कोरोना महामारीको भयावह अवस्था बनेपछि साउदी सरकारले भारतबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो। यसपछि भारतीय श्रमिक नेपाललाई ट्रान्जिट बनाउदै साउदी उड्ने गरेका थिए।

तर, नेपालमा पनि भारतीय ‘भेरियन्ट’ को कोरोना फैलिएपछि सरकारले विदेश उड्ने सबै उडान रद्द गरेको थियो। यसै क्रममा भारतबाट आएका १५ सय श्रमिक काठमाडौंमा रोकिएका थिए।