जापानमा ३ नेपालीमा भारतीय ‘भेरियन्ट’ सहितको कोरोना पुष्टी

जापानमा ३ नेपालीमा भारतीय ‘भेरियन्ट’ सहितको कोरोना पुष्टी

टोकियो। नेपालबाट यसै महिना जापान फर्किएका तीन नेपाली कामदारमा भारतीय ‘भेरियन्ट’ को कोरोना भाइरस फेला परेको छ।

जापानको तोचिगी प्रान्तमा बसोबास गर्ने तीन व्यक्तिमा सोमबार मात्र संक्रमण पुष्टी भएको हो। प्रान्तका अधिकारीले भारतको ‘डबल न्युटेन्ट’ कोरोना भाइरस संक्रमित पहिलो पटक फेला परेको बताएका छन्। नेपालबाट फर्किएका कूल ६ नेपालीमा कोरोना संक्रमण पाइएको यहाँ प्रकाशित समाचारमा उल्लेख छ। तीन जनामा भने पुरानै प्रकारको कोरोना संक्रमण पाइएको थियो।

तोचिगी प्रान्तमा २२ कोरोना भाइरसका बिरामी फेला परेकोमा दुई समुहमा एकैपटक पाइएको छ। अधिकारीहरुले संक्रमितबाट भाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन्।

भारतीय ‘न्युटेन्ट’ संक्रमित तीन जनै नेपाली आफन्त पर्छन्। यसमा तीस वर्षका पुरुष, दश बर्ष मुनिका एक बालक र बीस बर्ष उमेर समुहकी एक महिला रहेको बताइएको छ। उनीहरु मध्ये दुई जनालाई सामान्य लक्षण देखिएको र एकजनामा कुनैपनि लक्षण देखिएको छैन। संक्रमित व्यक्तिहरु यसै महिनाको सुरुवातमा जापान फर्केका हुन्। उनीहरु अन्य तीन जना आफन्तसँगै दुई दिनको फरकमा जापान फर्किएका थिए।

नेपालबाट आउँदा कोरोना भाइरस परीक्षणको नकारात्मक नतिजा बोकेका तीन जनाको नारिता बिमानस्थलमा गरिएको परीक्षणमा समेत संक्रमण देखिएको थिएन।

जापानको अध्यागमन नियमानुसार २ हप्ता घरमा ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने निर्देशन अनुसार उनीहरु घरमा बस्दै आएका थिए। कोरोना संक्रमणजन्य संकेत देखिएपछि उनीहरुले गरेको जानकारीको आधारमा कूल ६ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमा ज्वरो सहितको लक्षण देखिएको तीन जना र कुनैपनि लक्षण नदेखिएका तीन जना गरि सबै ६ जनामानै संक्रमण भेटिएको हो।

कोरोना भाइरस संक्रमण पुष्टिपछि भाइरसको प्रकार परीक्षण गर्दा तीन जनामा भारतीय ‘डबल म्युटेन्ट’ कोरोना भाइरस संक्रमण पाइएको अधिकारीहरुले बताएका छन्।

नेपालबाट पछिल्लो दुई उडानमा आएका १९/१९ जना नेपालीमा नारिता बिमानस्थलमा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा फैलिएको संक्रमित भाइरस तथा जापान आएकामा भेटिएको संक्रमणको वहावलाई ध्यानमा राख्दै जापानले नेपालसहित भारत र पाकिस्तानबाट अर्को सूचना जारी नभएसम्मका लागि मे १४ तारिखबाट प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।