ओमनबाट कालो पठाइएको अक्सिजन सिलिण्डर, नेपाल पुग्दा कसरी निलो भयो ?

ओमनबाट कालो पठाइएको अक्सिजन सिलिण्डर, नेपाल पुग्दा कसरी निलो भयो ?

काठमाडौं । ‘ओमनबाट कालो रङको पठाइएको अक्सिजन सिलिण्डर नेपाल पुग्दा कसरी निलो भयो? यसमा चलखेल त भएको छैन? होइन भने किन यस्तो भयो?’ यो मध्यपूर्वको एउटा देशबाट एक श्रमिकले प्रवास खबरसँग राखेको जिज्ञाशा हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई आइतबार ५ सय ६० थान अक्सिजन सिलिण्डर उपलब्ध गरायो। जुन सिलिण्डर मध्यपूर्वका विभिन्न देशमा नेपाली श्रमिकले आर्थिक संकलन गरेर पठाएका हुन्। ती सिलिण्डर संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र अध्यक्ष कुमार पन्तले आइतबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई मन्त्रालयको प्रांगढमै बुझाए।

नेपालमा अक्सिजनमा देखिएको अभाव कम गर्न संघको मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो, जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।

संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट ५ सय ६० थान सिलिण्डर प्रति सिलिण्डर १ सय २० डलरमा खरिद गरेर पठाएको थियो। सिलिण्डर शनिबार राती काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो।

ओमनबाट शनिबार पठाइएका ५ सय ६० थान अक्सिजनका खाली सिलिण्डर कालो रङका थिए। फोटोमै यो ‘क्लियर’ देखिन्छ। एनआरएन सोसल क्लब ओमनका अध्यक्ष विकल झा पनि ओमनबाट कालो रङका सिलिण्डर पठाएको बताउँछन्।

आइतबार मन्त्रालयमा हस्तान्तरण कार्यक्रममा भने सिलिण्डर निलो रङको देखियो। निलो रङको देखेपछि ती श्रमिकले प्रवास खबरसँग यस्तो प्रश्न राखेका हुन्। उनैको जिज्ञाशा मेटाउन यहाँ प्रयास गरेका हौं।

ती श्रमिकले राखेको जिज्ञाशा हामीले सबैभन्दा पहिला ओमनका अध्यक्ष झासमक्ष राखेका थियौं। उनले जवाफमा भने, ‘त्यो नमूना मात्रै हुनसक्छ। मन्त्रालयमै भएको नमूना हुनुपर्छ।’

सोही प्रश्न हामीले गैरआवासीय नेपाल संघ कोभिड–१९ उच्च स्तरीय समितिका प्रेस संयोजक चिरन शर्मालाई सोध्यौँ। संयोजक शर्मा भन्छन्,‘मन्त्रालयमा दिइएको सिम्बोलिक हो। जहाँ पनि डम्मी दिने चलन हुन्छ। उहाँले नबुझेर हो। त्यसमा कुनै शंका गर्नुपर्ने विषय छैन।’

संघको काठमाडौंस्थित सचिवालयका कार्यकारी निर्देशक राजेश राणाले भने हस्तान्तरण समारोहमा राखिएका सिलिण्डर स्वास्थ्य मन्त्रालय आफैले व्यवस्था गरेको बताउँछन्।

उनका अनुसार स्वास्थ्य मन्त्रालय आफैले ओमनबाट आएका ती सिलिण्डर विमानस्थलमा रिसिभ गरेको हो। राणाले प्रवास खबरसँग भने,‘उताबाट आएको समान सरकारले आफै बुझेको हो। हस्तान्तरण कार्यक्रममा राखिएका सिलिण्डर पनि मन्त्रालय आफैले व्यवस्था गरेको हो। सायद उतै(ओमन) बाट ल्याइएको सिलिण्डर हुनुपर्छ। नभए मन्त्रालयले सिम्बोलिक नमूना राखेको होला। त्यो उहाँहरुलाई नै थाहा छ। हामी (एनआरएनए) ले गरेको होइन।’

 

यो पनि पढ्नुहोस्

मस्कटबाट ५६० सिलिण्डर बोकेर आएको जहाज काठमाडौं आइपुग्यो

मध्यपूर्वबाट पठाइएका अक्सिजन सिलिण्डर सरकारलाई बुझाइयो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा