मध्यपूर्वबाट पठाइएका अक्सिजन सिलिण्डर सरकारलाई बुझाइयो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा

मध्यपूर्वबाट पठाइएका अक्सिजन सिलिण्डर सरकारलाई बुझाइयो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा

काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीले ओमनबाट पठाएका ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई बुझाइएको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र अध्यक्ष कुमार पन्तले आइतबार स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कुमार पन्तले ती सिलिण्डर सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा एक/एक सय, लुम्बिनी २ सय, प्रदेश २ तथा गण्डकीमा ८५/८५ वटा पठाउन मन्त्रालयलाई आग्रह गरेका छन्।

नेपालमा अक्सिजनमा देखिएको अभाव कम गर्न संघको मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो । जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।

जसअनुसार संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट ५६० थान सिलिण्डर खरिद गरेर शनिबार नेपाल पठाएको थियो । सरकार आफैले सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज मस्कट पठाएको थियो।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेका संघले जनाएको छ । संघले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने जनाएको छ।