चीनबाट नेपाल आइपुगे १८ हजार अक्सिजन सिलिन्डर

चीनबाट नेपाल आइपुगे १८ हजार अक्सिजन सिलिन्डर

काठमाडौं।। सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ । आइतबार स्थलमार्ग तातोपानी नाका हुँदै १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । तर, चीनले सिलिण्डर हस्तान्तरण गरिसकेको छैन । चीन सरकारले सिलिन्डर हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आइतबार नै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन उडिसकेको छ । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको छ ।