मस्कटबाट ५६० सिलिण्डर बोकेर आएको जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । मध्यपूर्वमा कार्यरत नेपालीले पठाएकाे ५६० थान अक्सिजन सिलिण्डर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाका अनुसार मस्कटबाट स्थानीय समय दिउँसो २ बजे उडेको जहाज नेपाली समय बेलुका साढे ७ बजे काठमाडौँमा अवतरण भएको हो ।
नेपाल सरकार आफैले सिलिण्डर लिन जहाज मस्कट पठाएको थियो । जहाज बिहान १० बजे मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो।
नेपालमा अक्सिजनमा देखिएको अभाव कम गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो । जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।
संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट यी सिलिण्डर खरिद गरेको थियो। यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले जानकारी दिए। ढुवानीको व्यवस्था भने ओमनस्थित नेपाली राजदूतावासको पहलमा नेपाल सरकारले गरेको हो।
संघले यी सिलिण्डर आइतबार बिहान ११ बजे एक स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गर्ने जनाएको छ ।
मध्यपूर्वका नेपालीले पठाएको ५६० अक्सिजन सिलिण्डर बोकेर मस्कटबाट काठमाडौं उडयो जहाज