मध्यपूर्वका नेपालीले पठाएको ५६० अक्सिजन सिलिण्डर बोकेर मस्कटबाट काठमाडौं उडयो जहाज

मध्यपूर्वका नेपालीले पठाएको ५६० अक्सिजन सिलिण्डर बोकेर मस्कटबाट काठमाडौं उडयो जहाज

मस्कट । मध्यपूर्वमा कार्यरत नेपालीले मातृभूमिका लागि ५६० थान अक्सिजन सिलिण्डर पठाएका छन् । मस्कटबाट अक्सिजन सिलिण्डर बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको हो ।

गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाका अनुसार जहाज स्थानीय समय दिउँसो २ बजे उडेको हो । जहाज नेपाली समय बेलुका करिब ७ बजे काठमाडौँमा अवतरण हुनेछ ।

नेपाल सरकार आफैले सिलिण्डर लिन जहाज मस्कट पठाएको थियो । जहाज बिहान १० बजे मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको थियो।

नेपालमा अक्सिजनमा देखिएको अभाव कम गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो । जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।

संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट यी सिलिण्डर खरिद गरेको थियो। यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले जानकारी दिए। ढुवानीको व्यवस्था भने ओमनस्थित नेपाली राजदूतावासको पहलमा नेपाल सरकारले गरेको हो।

सिलिण्डर पुर्याउन राजदूत शर्मिला पराजुली ढकाल, संघका प्रवक्ता डिबी क्षेत्री, सोसल क्लब ओमनका निवर्तमान अध्यक्ष सेवन्त मगर, अध्यक्ष विकल झा लगायतको टिम मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो।

अध्यक्ष झाले प्रवास खबरसँग कुरा गर्दै यो पवित्र अभियानमा जोडिने सम्पूर्ण नेपालीलाई धन्यावाद दिएका छन्।

संघले यी सिलिण्डर आइतबार बिहान ११ बजे एक स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गर्नेछ।