एनआरएनए हङकङले थाल्यो ‘एक अक्सिजन सिलिण्डर २ जीवन दान’ अभियान

एनआरएनए हङकङले थाल्यो ‘एक अक्सिजन सिलिण्डर २ जीवन दान’ अभियान एनआरएनए हङकङले आयोजना गरेको पत्रकार सम्मेलन

काठमाडौं। पछिल्लो केही दिन यता नेपालमा कोभिड–१९ को दोस्रो लहरले उग्र रुप लिएको छ। यसबाट दैनिक हजारौं संक्रमित भइरहेका छन् भने दैनिक सयौंको संख्यामा मानिसहरुको निधन भइरहेको छ। अस्पतालमा बेड खाली छैनन्।

अस्पताल पुगेर पनि बिरामी बेड नपाएर छट्पटाइरहेको अवस्था छ। यस्तोमा कयौं संघ संस्था तथा मनकारी मनहरुले सहयोगको लागि हातेमालो गरिरहेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार ओमनबाट ६ सय सिलिण्डर अक्सिजन पठाइरहेको छ।

यस्तै अहिले सहयोगका लागि एनआरएनए हङकङ पनि जुटेको छ। एनआरएनए हङकङले नेपालमा देखिएको यसपालीको कोभिड भेरियन्ट निकै खतरनाक भएको निष्कर्श निकाल्दै सहयोगका लागि ‘एक अक्सिजन सिलिण्डर २ जीवन दान’ अभियान संचालन गरेको छ। एक विज्ञप्ती निकाल्दै एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङले यस अभियानमा सहभागी हुन हङकङमा रहेका नेपालीहरुलाई अनुरोध गरेकी छिन्।

उक्त विज्ञप्तीमा लेखिएको छ, ‘कोभिडविरुद्धको पहिलो लहरमा हामीले संस्थागत रुपमा विभिन्न स्वास्थ्य सामग्री (करिब ८ लाख) दिएर मातृभूमिलाई सहयोग गरेका थियौं। तर, यो दोस्रो लहर धेरै भयावह भएको हुँदा सम्पूर्ण हङकङबासी दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ संस्थाहरु र व्यवसायीहरुलाई यस अभियानमा हातेमालो गरी सहयोग गरिदिनहुन अनुरोध गर्दछौं।’