राजदूत भारद्धाजको आशा– ‘भारतजस्तै नेपाललाई पनि कतारले उदारतापूर्वक सहयोग गर्छ’

राजदूत भारद्धाजको आशा– ‘भारतजस्तै नेपाललाई पनि कतारले उदारतापूर्वक सहयोग गर्छ’ फाइल फोटो

काठमाडौं। कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्धाजले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोनाको विषम परिस्थितिमा ५ सय ५० सय सिलिण्डर तथा कन्सन्ट्रेटर पठाउने निर्णय वास्तवमै तारिफयोग्य भएको बताएका छन्।

कोरोना महामारी विश्वव्यापी समस्या भएको र यसबाट बाहिर निस्किन सबैको सहयोग आवश्यक पर्ने बताउँदै उनले भने, ‘श्रोत सम्पन्न राष्ट्र पनि यसबाट अछुतो छैनन्। अमेरिका, बेलायत र फ्रान्स जस्ता राष्ट्रमा पनि कोरोनाको बिकराल अवस्था देखियो। त्यसैले एक जना वा सरकार मात्र लागेर यसबाट बाहिर निस्किन सकिन्न। यसका लागि सबैको सहयोग आवश्यक छ।’

\उनले महामारीको विकराल अवस्थामा एनआरएनले गरेको सहयोगको उच्च मूल्यांकन गरे।

‘सरकारले सक्दो प्रयास गरिरहेको छ। तर, त्यो पर्याप्त छैन। त्यसैले यसका लागि ३ करोड जनता नै जुट्नु पर्छ,’ राजदूत भारद्धाजले एनआरएनए कतारद्वारा इदको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बिहीबार भने।

उनले एनआरएनएको सहयोगमा ओमनबाट नेपाल पठाउन लागिएको ५ सय ५० सिलिण्डरले मानव जीवन बचाउन सहयोग गर्ने बताए। ‘यो ठूलो पहल हो। यसले जीवन बचाउन काम गर्छ,’ उनले भने।

राजदूत भारद्धाजले कतार सरकारले छिमेकी भारतमा भयावह भएको कारोना महामारीमा उदारतापूर्वक सहयोग गरेको स्मरण गराउँदै नेपाललाई पनि त्यही किसिमको सहयोग हुनेमा विश्वास व्यक्त गरे।

‘६ मेमा परराष्ट्र मन्त्रालयमार्फत चिट्ठी आएको छ। तर, अहिले इद–अल–फितरको छुट्टिका कारण कुरा अगाडी बढेको छैन। तर, छिट्टै टुँगो लाग्ने छ,’ उनले भने।