इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ बंकरभित्र जानु

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ बंकरभित्र जानु

काठमाडौं । केही दिनयता हमास र इजरायली सेनाबीचको तनावले उग्र रुप लिएको छ । तनावले उग्ररुप लिएपछि इजरायलमा भएको नेपाली राजदूतावासले इजरायलमा भएका सबै नेपालीलाई सुरक्षित स्थानमा बस्न अपिल गरेको छ ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल जारी गर्दै पछिल्लो अवस्थाले सबैलाई त्रसित बनाएको बताएकी छिन् । तर, यस्तो अवस्थामा नआत्तिन र सकेसम्मका सुरक्षाका उपाय अपनाउन आग्रह गरेकी छिन् ।

इजरायलमा ज्यान बचाउन बंकरमा लुक्दै नेपाली

उनले लेखेकी छिन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दै गएको सम्बन्धमा सबै जानकार नै हुनुहुन्छ । केही दिनदेखि जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाइ १८० भन्दा बढी रकेट प्रहार भएको छ । यसले हामी सबैलाई त्रसित तुल्याएको छ । तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न हामी इजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।’

उनले साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, आग्रह गरेकी छिन् । त्यस्तै झ्याल नजिक नजान, यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित हुने उपाय अपनाउन दुतावासले अनुरोध गरेको छ ।

कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्नसमेत दूतावासले अपिल गरेको छ ।