भारतमा भेटिएको कोरोना भाइरसको ‘भेरियन्ट’ ४४ देशमा फैलियो

भारतमा भेटिएको कोरोना भाइरसको ‘भेरियन्ट’ ४४ देशमा फैलियो तस्वीर : बीबीसी

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा भेटिएको कोरोना भाइरसको ‘भेरियन्ट’ विश्वको ४४ देशमा फैलिसकेको बताएको छ।

डब्ल्यूएचओका अनुसार भारतमा गत वर्ष अक्टुबर महिनामा बी.१.६१७ ‘भेरियन्ट’ फेला परेको थियो। अहिले यो डब्ल्यूएचओको सबै ६ क्षेत्रीय देशमा पुगिसकेको छ। यसबाहेक पनि थप ५ देशमा भारतीय ‘भेरियन्ट’ फेला परेको बताइएको छ।

यो ‘भेरियन्ट’ ले भारतबाहेक बेलायतलाई सबैभन्दा बढी प्रभावित तुल्याएको छ। ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको ‘स्ट्रेन’ पनि सबैका लागि चिन्ताको विषय बनेको छ। यी ‘भेरियन्ट’ वास्तविक भाइरसभन्दा बढी खतरनाक देखिएका छन्। यो पहिलेको अनुपातमा तीब्र गतिमा पनि फैलिरहेको छ।

डब्ल्यूएचओ प्रमुख मारिया वेन केरखोवले अनुसन्धानमा पत्ता लागेको रिपोर्ट सार्वजनिक गर्दै भनेकी छिन्, कोरोनाको नयाँ ‘भेरियन्ट’ मा भ्याक्सिनको भन्दा पनि बढी प्रतिरोधात्मक क्षमता देखिएको छ।

‘यो वास्तवमा चिन्ताको विषय हो,’ उनी भन्छिन्। मंगलबार मात्र विश्वमा ७ लाख १० हजार १ सय २२ नयाँ कोरोना संक्रमित थपिएका थिए। यसमा १३ हजार ४ सय ४४ जनाको निधन भइसकेको छ। भारतमा मात्र मंगलबार ३ लाख ४८ हजार संक्रमित फेला परेका थिए।

विश्वमा हाल कोरोनाबाट १६ करोड व्यक्ति संक्रमित भइसकेका छन्। जसमा ३३ लाख ३१ हजारको निधन भइसकेको छ। –एजेन्सी