एनआरएनएले ओमन र चीनबाट प्लेन चार्टर गरेर अक्सिजन सिलिण्डर पठाउँदै

एनआरएनएले ओमन र चीनबाट प्लेन चार्टर गरेर अक्सिजन सिलिण्डर पठाउँदै

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले देशमा आवश्यक अक्सिजन कन्सेन्ट्रेटर र अक्सिजन सिलिण्डर पठाउने अभियानको सुरुवात गरेको छ।

एनआरएनएका उपाध्यक्ष डा. बद्रि केसीले खरिद प्रक्रिया अगाडि बढिसकेको र छिट्टै नेपाल पठाइने जानकारी प्रवास खबरलाई दिए।

उनले मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समन्वय परिषद् मिलेर ओमनबाट एउटा जहाज चार्टर गर्दै अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी भइरहेको बताए। एनआरएनए, ओमनका अध्यक्ष बिकल झाका अनुसार जहाज मस्कटस्थित नेपाली दूतावासको पहलमा मिलाउन लागिएको हो।

‘अन्य राष्ट्रिय समन्वय परिषद्बाट उठाइएको पैसाले चीनबाट पहिलो लटमा एक सय वटा अक्सिजन कन्सनट्रेटर पठाउने तयारी छ,’ केसीले भने, ‘यो समय निकै महत्वपूर्ण छ। सेकेण्ड सेकेण्डको महत्व छ।’

उनले एउटा अक्सिजन सिलिण्डर–कन्सेनट्रेटरले १० जना सम्मको ज्यान जोगाउन सम्भव रहेको जानकारी दिए। ‘यो सुरुवात मात्र हो। नेपालमा कोरोना नियन्त्रण नहुन्जेल एनआरएनएले नेपालीलार्य सहयोग गर्ने क्रम जारी राख्नेछ,’ उनले भने।

उनले देशमा रहेका आमाबुवा, दिदीबहिनी तथा दाजुभाईलाई सहयोग गर्नु एनआरएनएको कर्तब्य भएको बताउँदै विश्वमा छरिएर रहेका सबै ८३ राष्ट्रिय समन्वय परिषद्लाई सहयोग गर्न आग्रह गरे।

नेपालमा पछिल्लो समय कोरोना महामारीको प्रकोप डरलाग्दो गरि फैलिरहेको छ। हरेक दिन संक्रमित ९ हजारभन्दा माथि देखिएका छन्। मर्नेको संख्या पनि दिनहुँ ५० को हाराहारीमा देखिएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार पुगिसकेको छ। यसमा ३ हवार ८ सय ५९ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो १४ दिनमा मात्र १ लाखभन्दा बढी नेपाली कोरोना संक्रमित भइसकेका छन्। अक्सिजन अपुग हुँदा धेरैले ज्यान गुमाउनु परेको छ।